१० मंसिर २०८१, सोमबार
एजेन्सी : स्पेनिस ला लिगा फुटबल अन्तर्गत गय राति भएको खेलमा उपाधि च्याम्पियन रियल मड्रिड सिजनको अन्तिम खेलमा बराबरीमा रोकिएको छ । लिगको ३८औं साताको खेलमा रियललाई रेलिगेसन जोनको लेगानेसले आफ्नो घरेलु मैदानमा २–२ को बराबरीमा रोकिदिएको हो । तर, आफ्नो घरमा रियललाई स्पष्ट अन्तरमा हराउन नसक्दा लेगानेस भने रेलिगेसनमा परेको छ । उसलाई अब आगामी सिजन ला लिगामा देख्न पाइनेछैन ।
उक्त बराबरीपछि रियलको कोरोना भाइरसपछि शतप्रशित विजयी नतिजा निकाल्ने अभियान पूरा हुन पाएन । साथै, प्रशिक्षक जिनेदिन जिदान रियल मड्रिडको आफ्नो करिअरमा दोस्रोपटक सबैभन्दा लामो विजयी खेलको रेकर्ड बनाउनबाट पनि असफल रहे ।
रियलले घरेलु टोलीविरुद्ध खेलको नवौं मिनेटमै अग्रता लिएको थियो । इस्कोले फ्रि किक प्रहारमा हानेको बलमा बक्समा तैनाथ रहेका कप्तान सर्जियो रामोसले हेडिङमार्फत् सुन्दर गोल गरेका थिए । रामोसले जारी सिजन ला लिगामा ११औं गोल गरेका हुन् । कोरोना भाइरसछि लिग सुचारु भइकन मात्रै उनले ६ गोल गरिसकेका छन् ।
तर, पहिलो हाफको थप समयमा लेगानेसका लागि ब्रायन गिलले गोल गर्दै खेल १–१ बनाए । दोस्रो हाफमा दुवै पक्षबाट गरी २ गोल भए । खेलको ५२औं मिनेटमा रियलका लागि मार्को एसेन्सियोले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । तर, खेलको ७८औं मिनेटमा लेगानेसका लागि रोजर अश्शाले गोल गर्दै खेल २–२ बनाए ।
त्यसपछि थप गोल गर्न नसक्दा खेल बराबरीमा सकियो । यो बराबरीपछि च्याम्पियन रियलले ३८ खेलबाट ८७ अंक जोडेको छ । उसले दोस्रो स्थानको बार्सिलोनालाई ५ अंकले पछि पार्दै सिजन पूरा गर्न सफल भया । लेगानस ३८ खेलबाट ३६ अंक जोड्दै १८औं स्थानमा रह्यो ।