कोरोना नियन्त्रणमा विशेष रणनीति बनाउन प्रधानमन्त्रीलाई सभापति देउवाको सुझाव

होमल्याण्ड खबर

२०७७ श्रावण ८ गते, बिहीबार १७:४० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउन खुलेपछि कोरोना संक्रमण नियन्त्रणका लागि विशेष रणनीति तय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउनुभएको छ ।  बिहीबार प्रधानमन्त्री ओलीलाई भेटेर देउवाले १ सय २० दिने लामो लकडाउन खुलेपछिको अवस्था र बाढीपहिरोका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

लकडाउनका बावजुद संक्रमितको संख्या २० हजार पुग्न लागेको र ३ दर्जन बढीको मृत्यु भएकाले विशेष रणनीति तयार गर्न सभापति देउवाले आग्रह गर्नुभयो । स्वास्थ्य परीक्षण पिसीआर बिधिबाट गर्न, क्वारेन्टाइन मापदण्डयुक्त बनाउन देउवाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको नेपाली कांग्रेसले जनाएको छ ।

त्यसैगरी देउवाले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने कार्यमा तीब्रता दिन, बाढी, पहिरो पीडितलाई उद्धार, राहत र पुनर्स्थापना  कार्य यद्धस्तरमा गर्न प्रधानमन्त्री ओलीसँग आग्रह गर्नुभयो । सरकारका कार्यबाट असन्तुष्ट भएर गरिएको आन्दोलनका माग सुन्न पनि उहाँले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनुभयो