गणतन्त्र स्मारक नारायणहिटीबाट हटाउन माग

होमल्याण्ड खबर

२०७७ श्रावण १० गते, शनिबार १५:२६ मा प्रकाशित

राजतन्त्र अन्त्य, जनआन्दोलनको सफलता र गणतन्त्र तथा त्यो उपलब्धी प्राप्तिका लागि शहादत गर्नेहरूको सम्झनामा निर्माण गरिएको गणतन्त्र स्मारक नारायणहिटीबाट हटाउनुपर्ने आवाज फेरि एक पटक उठेको छ । विसं. २०६८ चैत १४ गते तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शिलान्यास गरेको तथा विसं. २०७६जेठ १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घान गर्नुभएको गणतन्त्र स्मारक र निर्माणको क्रममा रहेको गणतन्त्र संग्रहालय नारायणहिटीबाट हटाउनुपर्ने आवाज सत्तारुढ दलभित्रैबाट उठेको हो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले नारायणहिटीबाट गणतन्त्र स्मारक र गणतन्त्र संग्रहालय हटाउनुपर्ने बताउनभुयो । नारायणहिटी भित्र गणतन्त्र स्मारक निर्माण गर्न नहुने भएपनि गलत तरिकाले बनाइएको उहाँको भनाइ छ । राजतन्त्र अन्त्य, जनआन्दोलनको सफलता र गणतन्त्र तथा त्यो उपलब्धी प्राप्तिका लागि शहादत गर्नेहरूको सम्झनामा निर्माण गरिएको गणतन्त्र स्मारक नारायणहिटीबाट हटाएर अन्य ठाउँमा निर्माण गर्नुपर्ने नेता नेपालको भनाइ छ ।

पटकपटक गणतन्त्र स्मारक हटाउनुपर्ने धारणा राख्दै आउनुभएका नेता नेपालले बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नारायणहिटीबाट हटाएर त्यसलाई अन्यत्रै सार्नुपर्ने बताउनुभयो । नारायणहिटीमा गणतन्त्र स्मारक र संग्रहालय बनाउनुभन्दा त्यहाँ राजाहरुको पुरानो जग देखिने गरी विकास गर्नुपर्ने धारणा उहाँको छ । पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले भन्नुभयो, ‘गणतन्त्र स्मारक त्यहाँ राख्नु उपयुक्त छैन । त्यसका लागि छुट्टै संग्रहालय बनाउनुपर्छ, गणतन्त्र संग्रहालय । जसमा जनताको आन्दोलन र सामाजिक आन्दोलन देखि लिएर सबै कुरा बेग्लै किसिमको संग्रहालय गणतन्त्र आइसकेपछिको नेपालले बनाउनुपर्छ । नारायणहिटीलाई राजा महाराजले पुरानो इतिहासको सम्पूर्ण झलक देखिने गरी बनाउनुपर्छ । त्यहाँ अरु कुनै कुराहरु गर्नुहुँदैन ।’

यता नारायणहिटी दरबार संग्रहालय भने स्मारकको निर्माण सम्पन्न गरी सर्वसाधारणका लागि खुला गर्ने समय कुरिरहेको छ । लकडाउनका कारण तत्काल सम्भव नभएपनि सरकारले संग्रहालयहरु खुला गर्ने निर्णय सरकारले गरेपछि सर्वसाधारणका लागि खुला गरिने नारायणहिटी दरबार संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताउनुभयो । सहरी विकास मन्त्रालय अन्तरर्गत सहरी विभागले स्मारक निर्माण सम्पन्न गरी गत माघ ३ गते नारायणहिटी दरबार संग्रहालयलाई हस्तान्तरण गरिसकेको छ । गणतन्त्र स्थापनाका लागि आफ्नो ज्यानको आहुति दिने व्यक्तिहरुको सम्मानमा स्मारक निर्माण भएको र गणतन्त्र संग्रहालय डेढ महिनामा सम्पन्न गर्ने लक्ष्य लिइएको उहाँले बताउनुभयो ।

शहीदहरुप्रति गरिने सम्मान, श्रद्धाञ्जलीका कार्यक्रम यसअघि शहीद गेटमा गरिँदै आएकोमा अब गणतन्त्र स्मारक भित्रै गरिने उहाँले बताउनभुयो । ९ वर्ष मुनि र ७० वर्षमाथिका नागरिकहरुका लागि निशूल्क प्रवेशको व्यवस्था गरिने उहाँले बताउनुभयो । स्मारक भित्र निर्माण भएको स्टेडियममा हरेक शुक्रबार कार्यक्रम गर्ने योजनाअनुसार गृहकार्य भइरहेको पनि उहाँले बताउनुभयो । उपत्यकामा बसोबास गर्ने नागरिक र विदेशबाट आउने पर्यटकहरुको प्रमुख गन्तव्यस्थलको रुपमा विकास गरिने उहाँले बतायनुभयो । एउटै टिकटले नारायणहिटी संग्रहालय, गणतन्त्र संग्रहालय र गणतन्त्र स्मारकको अवलोकन गर्न पाइने उहाँले बताउनुभयो ।

स्मारकमा हिमाल, पहाड र तराई झल्किने गरी बालुवा, गिट्टी, सिमेन्टलगायत सामग्रीले नेपालको नक्सा बनाइएको छ । यद्यपी नेपालको अद्यावधिक नक्सा अनुसार त्यसलाई परिमार्जन गर्न बाँकी रहेको छ । कालापानी, लिपुलेक र लिम्यिाधुरा सहितको भूमि जोड्ने काम छिट्टै शुरु हुने उहाँले बताउनुभयो । स्मारकको छानाबाट प्रकाशका राता किरण खसाइएको छ । आन्दोलनका क्रममा मृत्यु भएका, बेपत्ता पारिएका, हराएका र अंगभंग भएकाहरूको स्मरण गराउने गरी स्मारकमा चारवटा स्तम्भ निर्माण गरिएका छन् । स्मारकमुनिका दुई तलामध्ये पहिलोमा गणतन्त्र प्राप्तिका क्रममा खिचिएका तस्बिर राखिनेछन् । दोस्रो तलामा नेपालको संविधानसम्बन्धी विभिन्न विषयवस्तु संग्रह गरिनेछन् । स्मारक वरिपरि बगैँचा निर्माण गरिएको छ । संविधानको पुस्काकृति पनि कुदिँएको छ । दरबार क्षेत्रको पूर्वी भागमा बनाइएको स्मारकभित्र पार्क र भूमिगत हल पनि छ । स्मारकले ३५ रोपनी क्षेत्रफलमा ओगटेको छ । विस २०६८ चैत १४ गते तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शिलान्यास गरेको तथा विसं. २०७६ साल जेठ ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो ।