३ मंसिर २०८१, सोमबार
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज (मंगलबार) बस्दैछ । स्थायी कमिटी बैठक चलिरहेका बेला अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको राजीनामाको विषय प्रवेश भएपछि नेकपाभित्र पछिल्लो समय विवाद उत्कर्षमा पुगेको छ । दाहाल–नेपाल समूहले केपी शर्मा ओलीलाई प्रधानमन्त्री या पार्टी अध्यक्षमध्ये एक पद छोड्न दबाब दिँदै आएका छन् । ओलीले भने अहिले कुनै पनि हालतमा पार्टी र सरकार दुवै नछाड्ने अडान लिएका छन् । पार्टीभित्रको आन्तरिक विवादका कारण स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुदैँ आएको छ ।
यसअघि साउन ६ मा बसेको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली अनुपस्थित भएपछि केहीबेरमै टुंगिएको थियो । पार्टीभिको विवाद समाधानका लागि शिर्ष नेतृत्वमा पटक पटक छलफल हुदै आएपनि सहमति जुट्न सकेको छैन । आज पनि स्थायी कमिटी बस्नुअघि दुई अध्यक्षहरु ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बसेर सहमतिको प्रयास गर्ने बताइएको छ । त्यसपछि बैठक बस्ने या नबस्ने तय हुने नेताहरुले बताएका छन् ।
आज (मंगलबार) को स्थायी कमिटी बैठकको रणनीति बनाउन हिजो प्रचण्ड नेपाल समूहबीच छलफल भएको थियो । अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा हिजो भएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल,नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालगायत नेता सहभागी भएका थिए ।
छलफलमा सहमतिका साथ अघि बढ्ने सम्भावना नरहे बहुमतका आधारमा अघि बढ्ने गरी बैठकमा प्रस्तुत हुन नेताहरुले प्रचण्डलाई सुझाव दिएका थिए । सोही अनुसार अघि बढ्न प्रचण्ड पनि सहमत भएको बताइएको छ । यस्तै दाहाल–नेपाल समूहबीचको छलफलले स्थायी कमिटी बैठकलाई नियमित एजेन्डामा फकाउर्नुपर्ने निर्षकष निकालेको थियो ।