“सरकार अव त अति भो” भनेर खबरदारी गर्न गगन थापाको आह्वान

होमल्याण्ड खबर

२०७७ श्रावण १६ गते, शुक्रबार १०:५८ मा प्रकाशित

काठमाडौँ । नेपाली काँग्रेसका प्रभावशाली नेता तथा पुर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले सरकार अव त अति भयो भनेर सरकारलाई खबरदारी गर्न आम नागरिकलाई आह्वान गर्नुभएको छ । कोरोनाभाइरसको संक्रमण अत्यन्त तिव्र रुपमा फैलिएपनि सरकारले लापर्वाही गरेकोभन्दै उहाँले सरकारले सुन्नेगरी खबरदारी गर्न आह्वान गर्नुभएको हो ।
सामाजिक सञ्जालहरु मार्फत् उहाँले बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी सवैले “सरकार अब अति भो” भन्नु पर्ने बेला आएको बताउनुभएको छ । नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको विवादमा अल्झेको, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल आफुले राम्रो काम गरेको छु भन्दै आफै भजन गाउदै हिँडेको टिप्पणी पनि गर्नुभएको छ । मुख्य जिम्मेबार पदाधिकारीहरुलाई नै संक्रमण नियन्त्रणको विषय प्राथमिकतामा नपरेकाले संक्रमणले नराम्रो रुप लिनसक्ने नेता थापाले चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले कोरोनाको संक्रमण भुसको आगोझैँ फैलिएपनि सरकारले परीक्षणको दायरा नबढाएको र अस्पताल केन्द्रीत तयारी नगरेकोभन्दै आपत्ति जनाउनुभएको छ ।
नेता थापाले सामाजिक सञ्जालहरुमा लेख्नुभएको छ, “प्रधानमन्त्री ज्यू पार्टीको खिचातानीमा व्यस्त ! ‪स्वास्थ्यमन्त्री गज्जबको काम गरेँ भन्दै भजन गाउन मस्त ! ‬भुसको आगोझै संक्रमण फैलिएको छ, सरकार न परीक्षण बढाउँछ, न अस्पताल केन्द्रित तयारी गर्छ । बालुवाटार को पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी भनौँ – सरकार अब अति भो !” पछिल्लो समय कोरोनाभाइरसबाट संक्रमित र मृत्यु भएकाहरुको संख्या बढ्दै गइरहेको देखिएको छ भने सरकारले परीक्षण घटाएको छ । विज्ञ तथा चिकित्सकहरुले पनि कोरोना भाइरसको संक्रमण डरलाग्दो तरिकाले बढीरहेकाले सरकार र नागरिक सवैले उच्च सतर्कता अप्नाउनु पर्नेमा जोड दिदै आएका छन् ।