होमल्याण्ड खबर
२०७७ श्रावण १६ गते, शुक्रबार ११:०७ मा प्रकाशित
एजेन्सी : इंग्ल्यानडले तीन ओडिआईको सिरिजको पहिलो खेलमा सानदार सुरूवात गरेको छ । तीव्र गतिका बलर डेभिड विल्लीको उत्कृष्ट बलिङमा घरेलु टोली इंग्ल्यान्डले आयरल्यान्डलाई ६ विकेटले पराजित गरेको छ ।
आयरल्यान्डले प्रस्तुत गरेको १ सय ७३ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले २७.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । इंग्ल्यान्डका साम बिलिंग्स ५४ बलमा ११ चौका सहित ६७ रनमा अविजित रहे । कप्तान ओइन मोर्गनले ४० बलमा ४ चौका र २ छक्का सहित ३६ रनमा अविजित रहे । ओपनर जेसन रोयलाई क्रेग यौङले २४ रनमा एलबिडब्लू आउट गरे । जोनी बेयरस्टोलाई एन्डी म्याकब्रिनले २ एलबिडब्लू आउट गर्दै पेभिलिएन फर्काए । जेम्स भिन्स २५ र टम ब्यान्टन ११ रनमा आउट भए । आयरल्यान्डका क्रेग यौङले २, कर्टिस क्याम्पर र एन्डी म्याकब्रिनले १–१ विकेट लिए ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ४४.४ ओभरमा १ सय ७२ अल आउट भएको थियो । खराब प्रर्दशन गरेको आयरल्यान्डलाई अलराउन्डर कर्टिस क्याम्परले १ सय १८ बलमा ४ चौका सहित ५९ रनमा अविजित रहँदै सम्मानजनक योगफल सम्म पुर्याए ।
विल्लीले लोर्कान टकरलाई शून्य रनमा एलबिडब्लू आउट गरेपछि आयरल्यान्ड ६.३ ओभरमा २८–५ को कमजोर अवस्थामा पुगेको थियो । कर्टिस क्याम्पर र केभिन ओ, ब्रायनले छैटौं विकेटका लागि ५१ रनको साझेदारी गर्दै इनिङ उकास्ने प्रयास गरेका थिए । तर स्पिनर आदिल रशिदले विल्लीबाट केभिनलाई २२ रनमा क्याच आउट गराए । सिमी सिंह शून्यमा रन आउट बन्न पुगे ।
आठौं विकेटका लागि कर्टिस र एन्डी म्याकब्रिनले महत्वपूर्ण ६६ रनको साझेदारी गरेका थिए । ३८ औं ओभरको अन्तिम बलमा टम करन बिलिंग्सबाट एन्डी म्याकब्रिन ४८ बलमा ३ चौका र १ छक्का सहित ४० रनमा क्याच आउट हुन पुगे । डेभिड विल्लीले ८.५ ओभरमा २ मेडन सहित ३० रन खर्चेर ५ विकेट लिए । सकीब महमुदले २, टम करन र आदिल रशिदले १–१ विकेट लिए । दोस्रो खेल शनिबार हुनेछ ।
उक्त खेलसँगै आइसिसी विश्वकप सुपर लिग पनि सुरुवात भएको छ । सन् २०२२ सम्म चल्ने सुपर लिगमा १२ टेष्ट टोली र नेदरल्यान्ड्स गरि कुल १३ देशले प्रतिस्पर्धा हुँने छ । लिगपछि भारत बाहेकका शीर्ष ७ टोलीले एक दिवसिय विश्वकपमा स्थान बनाउने छन् ।