सिजनको अन्तिम खेलमा युभेन्टस पराजित

होमल्याण्ड खबर

२०७७ श्रावण १८ गते, आईतवार ११:०७ मा प्रकाशित

एजेन्सी : इटालियन सिरी ए च्याम्पियन क्लब युभेन्टस लगातार दोस्रो खेलमा पराजित भएको छ । आफ्ना मुख्य खेलाडीहरुलाई विश्राम दिएको अन्तिम खेलमा युभेन्टस पराजित भएको छ ।
युभेन्टस आफ्नै घरेलु मैदानमा रोमासँग ३–१ ले पराजित भएको हो । रोमाको जितमा डिएगो पेरोट्टीले दुई तथा निकोला कालिनिकले एक गोल गरे । गोन्जाले हिगुआइनले गरेको गोल सान्त्वना बन्यो । घरेलु मैदान एलिएन्ज एरिनामा शनिबार राति भएको खेलको पाँचौ मिनेटमा नै हिगुआइनको गोलबाट युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थियो ।
त्यस्तै जारी खेलको २३औं मिनेटमा निकोलाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ४४औं मिनेटमा डिएगो पेरोट्टीले पेनाल्टीमार्फत गोल गर्दै रोमालाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।
दोस्रो हाफको ५२औं मिनेटमा पेरोट्टीले व्यक्तिगत दोस्रो तथा टोलीका लागी तेस्रो गोल गर्दै रोमालाई ३–१ को जित दिलाए ।
उक्त जितसँगै पाँचौ स्थानमा रहेको रोमाले अन्तिम ३८ खेलबाट ७० अंक जोड्यो । उसले अर्काे सिजनको युरोपा लिग खेल्नेछ । पराजित युभेन्टस ८३ अंकमा रोकियो । तीन खेल अघिनै च्याम्पियन बनेको युनेन्टसले खेलपछि यो सिजनको ट्रफी उचालेको थियो । युभेन्टसले लगातार नवौं सिजन सिरी ‘ए’ को उपाधि जितेको हो ।