प्रधानमन्त्री ओलीले भने: सरकारको कामले मात्रै कोरोना नियन्त्रण हुँदैन

होमल्याण्ड खबर

२०७७ श्रावण २० गते, मंगलवार १३:२६ मा प्रकाशित

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रयासले मात्रै कोरोना नियन्त्रण गर्न नसकिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी विज्ञ र विभिन्न राजनीतिक दलका नेताहरूसँगको परामर्श बैठकमा प्रधानमन्त्री ओलीले संकटलाई विरोध गर्ने अवसरका रूपमा नलिन पनि आग्रह गरेका हुन् ।

कोरोना संक्रमणको जोखिम बढिरहेको सन्दर्भमा अब लिनुपर्ने रणनीतिबारे विज्ञहरुसँग छलफल गर्न मंगलबार आयोजित बैठकमा प्रधानमन्त्रीले संकटलाई विरोध गर्ने अवसरका रुप लिन नहुने धारणा राखेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा प्रधानमन्त्रीले भने ‘यता पल्टाएर पनि विरोध,उता पल्टाएर पनि विरोध । कहिले लकडाउन किन भनेर विरोध । कहिले लकडाउन खोलेको भनेर विरोध । महामारी सबैको चुनौती हो, कसैले पनि यसलाई विरोधको अवसर ठान्नु हुन्न ।’

सोही बैठकमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले लकडाउन गर्ने, नगर्ने कुरा समुादयमा संक्रमणको स्तर हेरेर निर्धारण हुनुपर्ने बताए । उनले हरेकलाई सामाजिक दूरी कायम गर्न र मास्क अनिवार्य लगाउन कडाइ गर्नुपर्ने भन्दै मुख छोपेर हिँड्न बानी पार्नुपर्ने बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग सरकारले सुझाव लिने क्रममा अब प्रतिदिन १८ हजार जनासम्मको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्न सक्ने गरी ल्याबको स्थापना गरिएको जानकारी दिइएको छ ।