३ मंसिर २०८१, सोमबार
काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आफू ठूलो-सानो कुनै गुटमा नलाग्ने स्पष्ट पारेका छन्। मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा उनले कुनै गुटमा नलाग्ने स्पष्ट पारेको गौतमका सहयोगी विश्वमणि सुवेदीले जानकारी गराएका छन्।
‘२० गते पार्टीका अर्का अध्यक्ष क. प्रचण्ड उपाध्यक्षलाई भेट्न जानुहुँदा उपाध्यक्ष क. वामदेवले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको स्पष्ट पार्नुभयो’, सुवेदीले फेसबुकमा लेखेका छन्, ‘क. प्रचण्डले ‘अब तपाईं के गर्नुहुन्छ?’ भनी सोध्नुभयो। उपाध्यक्ष क. वामदेव गौतमले ‘म ठूलो–सानो कुनै पनि गुटमा लाग्दिनँ’ भनि अध्यक्ष क.प्रचण्डलाई बिदा गर्नुभयो।‘
गौतमले गत साउन १३ गते पार्टी विग्रह रोक्न भन्दै ६ बुँदे प्रस्ताव अघि सारेका थिए। केपी ओलीले गौतमलाई सोही दिन साँझ उनको निवास भैंसेपाटीमै पुगेर भेटेका थिए भने प्रचण्ड पनि मंगलबार भैंसेपाटी नै पुगेका थिए।
भेटमा प्रचण्डले गौतमसँग पार्टीसँग सम्बन्धित केही समसामयिक विषयमा संक्षिप्त कुराकानी गरेको सुवेदीले बताएका छन्।