३ मंसिर २०८१, सोमबार
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भगवान बुद्ध नेपालमा जन्मिएको बताउनुभएको छ ।
शनिबार भारतीय विदेशमन्त्री एस.जयशंकरले गौतम बुद्ध भारतीय नागरिक भएको दावी गरेका थिए । भारतीय उद्योगीहरुको संस्था सि.आई.आई.ले आयोजना गरेको भर्चुएल कार्यक्रमलाई सम्बोधन गर्दै जयशंकरले बुद्धलाई महान भारतीय नागरिक भनेका थिए ।
प्रवक्ता शर्माले भारतीय विदेशमन्त्री जयशंकरको उक्त अभिव्यक्ति प्रति आपत्ति जनाउदै आइतबार ट्विट गरेर भगवान बुद्ध नेपालमा जन्मिएको स्पष्ट पार्नु भएको छ । शर्माले बुद्धको जन्मभूमि नेपालमा रहेकोे पौराणिक र प्रमाणित तथ्य विरुद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रती गम्भीर आपत्ति जनाए ।
प्रधानमन्त्रीले रामको जन्मभूमि नेपालमा भएको अभिव्यक्ति प्रति भारतले यस्तो भनेको हुन सक्ने भन्दै प्रवक्ता शर्माले आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्याउने कार्य स्विकार्य नहुने बताएका छन् ।
शनिबारको भर्चुएल कार्यक्रममा जयशंकरले भारतको इतिहासमा दुई जना महान भारतीय रहेको उल्लेख गर्दै गौतम बुद्ध र महात्मा गान्धीलाई विश्वले नै महान भारतीयका रुपमा चिन्ने बताएका थिए । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत बुद्ध भारतमा जन्मिएको अभिव्यक्ति दिएका थिए । सोही कारण मोदिको नपालमा तीव्र विरोध भएको थियो ।