गौतम बुद्धबारे भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति नेकपाका वरिष्ठ नेता नेपालको आपत्ति

होमल्याण्ड खबर

२०७७ श्रावण २५ गते, आईतवार १८:५५ मा प्रकाशित

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय विदेश मन्त्री एस जयशंकरको बुद्ध सम्बन्धी विवादित अभिव्यक्तिबारे नेपाल सरकारले भारतसँग औपचारिक रुपमा कुरा गर्नुपर्ने बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमै बोलेको ‘बुद्ध नेपालमा जन्मिएका हुन भन्ने भनेर स्पष्ट रुपमा उल्लेख गरेको सन्दर्भमा भारतीय जिम्मेवार अधिकारीबाट यस्ता अभिव्यक्ति आउनु दुःखद रहेको बताएका हुन् ।

नेपालले आज ट्वीट गर्दै यसबारेमा नेपाल सरकारलाई औपचारिक रुपमै भारतसँग कुरा गर्न अनुरोध गरेका छन् । नेपालमाथि नाकाबन्दी गर्ने बेलामा भारतीय विदेश सचिव रहेका जयशंकरले तथ्यहीन धारणा राखेको पूर्व प्रधानमन्त्री नेपालको निश्कर्ष छ । उनले ऐतिहासिक तथ्य, प्रमाण र पुरातात्विक अध्ययनबाट समेत बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका बाँकी नरहेपनि भारतीय नेताहरूबाट व्यक्त हुने यस्ता असंवेदनशील र गलत कुराले दुई देशबीचको सम्बन्धमा प्रतिकूल असर पार्दछन् भन्ने कुरा ख्याल गर्न ध्यानाकर्षण् गराएका हुन ।

 

जयशंकरले हिजो आयोजित एक भर्चुअल सम्मेलनमा गौतम बुद्धबारे विवादित अभिव्यक्ति दिएका छन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान बुद्धबारे विवादित अभिब्यक्ति दिएपछि भारतीय नेताहरुले बुद्धबारे आफ्नो अडान फेरेको विश्लेषण गरिएको छ ।