८ मंसिर २०८१, शनिबार
सन्दिप लामिछाने र अमित मित मिश्राले उत्कृष्ट बलिङ गरेपछि दिल्ली डेर डेविल्सले आईपीएलको यो सिजन शानका साथ अन्त्य गरेको छ ।
सुरुवातमा खराब प्रदर्शन गरेको दिल्लीले अन्तिम खेलमा मुम्बई इण्डियन्सलाई ११ रनले हरायो । नेपाली युवा लेग स्पीनर सन्दिप लामिछाने आएपछि दिल्लीले तीन खेलमध्ये दुईमा जित हात पा¥यो ।
तीन खेलमध्ये सन्दिपले पहिलो र दोस्रो खेलमा एक एक विकेट लिए भने तेस्रो खेलमा तीन विकेट लिएका थिए । टिमको १७४ रनको योगफल जोगाउनका लागि सन्दिप लामिछानेले पहिलो ओभरमा नै विकेट लिए । सुर्यकुमार यादवलाई विजय शंकरको हातबाट क्याचआउट गराए । त्यसपछि १०औं ओभरमा कायरन पोलार्ड र क्रुनाल पाण्ड्यालाई पनि सन्दिपले क्याच आउट गराउँदै तीन विकेट लिए । ४ ओभर
बलिङ गरेको सन्दिपले ९ रनको औशतमा ३६ रन दिएर कुल तीन विकेट लिए ।
म्यान अफ द म्याच अमित मिश्राले कसिलो बलिङ गर्दै ३ विकेट लिए । चारै ओभर बलिङ गरेको अमितले जम्मा १३ रन खर्चिएका थिए । ट्रेन्ट बोल्टले पनि १ विकेट हात पारे ।
प्लेअफमा पुग्नका लागि जित्नै पर्ने दबावमा रहेको मुम्बईले १७५ रनको लक्ष्यको जवाफमा १६३ रनमा अलआउट भयो । उसका लागि इभिन लुइसले सर्वाधिक ४८ रन जोडे भने बेन कटिङले आक्रामक ३७ रन बनाए । अन्य ब्याट्सम्यानको प्रदर्शन खराब रह्यो ।
दिल्ली स्थित फिरोज शाह कोत्ला मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको दिल्लीले ४ विकेटको क्षतिमा १७४ रन बनाएको थियो । यसका लागि रिसव पन्तले ६४ रनको उत्कृष्ट इनिङ गरे । यस्तै विजय शंकरले पनि ४३ रन बनाए भने ग्लेन म्याक्सवेलले २२ र अविषेक शर्माले १५ रनको योगदान दिए ।
बलिङ तर्फ मुम्बईका क्रुनाल पाण्ड्या, जस्प्रित बुम्राह र मायांक मार्काण्डेले १–१ विकेट लिए ।
एजेन्सी