गगन थापाद्धारा कोरोना रोकथामका लागि मेयर शाक्यको ध्यानाकर्षण

होमल्याण्ड खबर

२०७७ भाद्र ८ गते, सोमबार १४:१८ मा प्रकाशित

काठमाडौँ ।नेपाली काँग्रेसका नेता गगन थापाले कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको ध्यानाकर्षण गराएका छन् । थापाले कोरोना रोकथामका लागि ६ बुँदा मार्फत मेयर शाक्यको ध्यानाकर्षण गराएका हुन् ।

महानगरकाप्रमुख शाक्यलाई आइतबार साँझ भेटेर सांसद थापाले काठमाडौमा बढ्दो कोरोना संक्रमण रोक्न महानगरले तत्काल गर्नुपर्ने कामका सन्दर्भमा ध्यानाकर्षण गराएका हुन् ।महानगरपालिकाको स्वास्थ्य विभागका प्रतिनिधि लगायतसँग छलफल गरी ध्यानाकर्षण गराएको थापाले जानकारी दिए।

कोरोना महामारी रोकथाम र नियन्त्रणमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका र जिम्मेवारी हुने भन्दै थापाले महानगरप्रमुख शाक्यलाई त्यसका लागि अग्रसरता लिन आग्रह गरेका छन् । महानगरपालिकाले अग्रसरता लिएर कन्ट्याक्ट ट्रेसिङ, परीक्षण र आइसोलेसनलगायतको प्रभावकारी व्यवस्थापन गर्नसके धेरै हदसम्म कोरोना संक्रमण नियन्त्रण हुने थापाको भनाई छ।