त्रिवि गैरजिम्मेवार बनेको नेवि संघको आरोप

होमल्याण्ड खबर

२०७७ भाद्र १३ गते, शनिबार २०:२५ मा प्रकाशित

त्रिभुवन विश्वविद्यालय गैरजिम्मेवार बनेको आरोप नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले लगाएको छ ।  नेवि संघको तर्फबाट शनिवार एक विज्ञप्ति जारी गर्दै महामन्त्री बलदेव तिमिल्सिनाले त्रिविका पदाधिकारी विद्यार्थीप्रतिको जिम्मेवारी र  दायित्व निर्वाह गर्न अक्षम रहेको भन्दै खेद प्रकट गरेका छन् ।

अहिलेको कोरोना संकटको अबस्थालाई अवसरको रुपमा सदुपयोग गर्दै खोज, अध्ययन र अनुसन्धानमार्फत विश्वका अन्य बिश्वबिद्यालय सरह नयाँ–नयाँ तथ्य सँगै यसको निराकरणका उपायहरु पत्ता लागाउनु पर्नेमा त्यसो गर्न नसकेको उनको आरोप छ । यो समयमा उल्टै विद्यार्थीहरुको भविष्य अन्धकार बनाउने काममा लागेको, तयारी गर्दैछौँ भन्ने रेडीमेड जवाफ दिएर भ्रष्टचारमा चुर्लुम्म डुबेको आरोप लगाएका पनि छन् ।  महामन्त्री तिमिल्सिनाले त्रिविले परीक्षाको लागि सूचना सम्प्रेषण गर्ने र आफ्नो  खुट्टामा आफै उभिन नसक्ने, अनलाइन कक्षाको नाटक मञ्चन गर्ने, २ सय ५५ भन्दा बढी विद्यार्थी कक्षामा सामावेश गर्न नसक्ने, सेमेष्टर प्रणाली भन्ने तर  आन्तरिक मूल्यांकनलाई वैधानिकता दिन नसक्ने भन्दै आपत्ति प्रकट गरेका छन् । उनले त्रिविले परिक्षाको निम्ति चार वटा उत्तम विकल्प भन्दै अघि सारेपनि मापदण्ड नबनाउने र त्यसको विश्वसनियता र बैधता माथी प्रश्न गर्ने गरेको उल्लेख गरेका छन्  ।

विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान कम्युनिष्ट सरकारको राज्य कब्जा कै नियत र मानसिकताबाट गुज्रेका निकम्मा पदाधिकारीहरुबाट विश्वविद्यालयलाई जोगाउंदै शैक्षिक, प्राज्ञिक मर्यादित वातावरण निर्माणका निम्ति हस्तक्षेपकारी भूमिका सहित विश्वविद्यालयको संरक्षणका निम्ति सबैमा अपिल गर्दछु ।’