ओली स्थायी कमिटी बैठकबाट बाहिरिए,बैठकको जिम्मा दाहाललाई

होमल्याण्ड खबर

२०७७ भाद्र २६ गते, शुक्रबार १२:३१ मा प्रकाशित

काठमाडौंः  काठमाडौंः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को  बालुवाटारमा सुरु भएको स्थायी कमिटी बैठकबाट पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएका छन् । बैठकमा २० मिनेट जति बसेका प्रधानमन्त्री ओलीले आफ्नो कुरा राखेर बैठक सञ्‍चालनको जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाललाई दिँदै बाहिरिएका हुन् ।

साउन १३ गतेदेखि स्थगित भएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी  रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

बैठकमा पार्टीभित्रको विवाद समाधना गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदन र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले तयार गरेको प्रस्तावमाथि छलफल हुने बताइएको छ । यस्तै, दुई अध्यक्षको जिम्मेवारीलाई प्रस्ट पार्ने तथा आगामी चैतमा महाधिवेशन गर्न प्रस्ताव गर्नेलगायतका विषयहरूमा पनि छलफल गरिनेछ । यसैगरी मन्त्रिपरिषद् पुनर्गठन निश्चित मापदण्ड बनाएर गर्नुपर्ने, प्रदेश र स्थानीय तहका कामलाई थप प्रभावकारी बनाउने, पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याउन निश्चित अवधि तोक्नेसहितका विषयमा समेत छलफल हुने बताइएको छ ।

यस्तै, अमेरिकी सहयोग परियोजना एमसीसी र केही अन्य विषयमा सामान्य छलफल गरेपछि स्थायी कमिटीको बैठक आजै टुङ्ग्याउने विषयम अध्यक्षद्वयबीच सहमति भएको बताइएको छ । कोभिड- १९ को नियन्त्रणलाई थप प्रभावकारी बनाउने उपायका बारेमा पनि नेकपा स्थायी कमिटीको बैठकमा छलफल गर्ने कार्यसूची तय  गरिएको छ । यसअघि स्थायी कमिटीमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि पार्टीभित्र चर्को विवाद भएको थियो ।

यी सबै विषयहरूलाई कार्यदलले आफ्नो प्रतिवेदनमा समावेश गरेको छ । प्रतिवेदनमाथि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले असहमति जनाउँदै आएको छ । स्रोतका अनुसार आजको स्थायी कमिटी बैठकमा नेपालले अध्यक्षद्वयको प्रस्तावमाथि आलोचनात्मक टिप्पणी गर्नेछन् ।