च्याम्पियन्स लिगको उपाधिमा रियालको ह्याट्रिक

होमल्याण्ड खबर

२०७५ जेष्ठ १३ गते, आईतवार ०५:१६ मा प्रकाशित

युरोपियन फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको उपाधिमा रियाल मड्रिडले ह्याट्रिक गरेको छ । लगातार तीन पटक उपाधि जित्नै नयाँ किर्तीमान बनाएको रियालले गएराति भएको फाइनलमा लिभरपुललाई तीन एक गोलले हराएको छ ।
लिभरपुलका गोलकिपर लोरिस क्यारियसको दुई गल्तीमा दुई गोल गरेपछि रियल म्याड्रिडले लिभरपुललाई च्याम्पियन्स लिगको फाइनलमा पराजित गर्याे ।
लिभरपुलका मुख्य हतियार मोहम्मद सलाह चोटका कारण खेलको आधा घण्टामा नै मैदानबाट बाहिरीनु लिभरपुलका लागि दुर्भाग्य बन्यो । पहिलो हाफमा सलाह सर्जियो रामोससँग जुदेपछि काँधमा चोट बोक्दै ३० औं मिनेटमा मैदान छाडे। विश्व कप नजिकिंदै गर्दा इन्जिप्टका स्ट्राइकर सलाहले बाहिरिने क्रममा आँशु थाम्न सकेनन् ।
४२ औं मिनेटमा बेन्जेमाले गोल गरेपनि रेफ्रीले अफसाइड दिए । रोनाल्डोको हेडरलाई लिभरपुलक गोलकिपर क्यारिसले रोकेपछि रिबाउन्डमा बेन्जेमाको प्रहार अफसाइड भयो । खेलको ३६ औं मिनेटमा रियलका फुल ब्याक ड्यानी कार्बाहाल पनि चोट बोक्दै बाहिरीए । मुख्य खेलमा राम्रो गर्न नसकेका कारण उनले पनि आँशु थाम्न सकेनन् ।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा चार गोल भए । जसमा लिभरपुलका गोलकिपरले दुई पटक ठुलो गल्ती गर्दा रियाल च्याम्पियन बन्यो । क्यारियसले हातले पास दिने क्रममा बेन्जेमाले उनको पासलाई ब्लक गर्दै ५० औं मिनेटमा उत्कृष्ट गोल गरे । जसका कारण रियालले एक गोलको अग्रता बनायो ।
५५ औं लिभरपुलले मानेको गोलमा खेल एक एक गोलको बराबरीमा पुर्यायो । लोभ्रेनको हेडपासमा मानेले गोल गरे । दोस्रो हाफमा इस्कोको स्थानमा मैदान प्रवेश गरेका ग्यारेथ बेलले ६३ औं मिनेटमा उत्कृष्ट गोल गर्दै रियललाई अग्रता दिलाए ।
लिभरपुलका लागि मानेले ७० औं मिनेटमा गोल गर्ने प्रयास गरेपनि उनको प्रहार फार पोस्टमा लाग्दै बाहिरियो। लिभरपुलले पुनः क्यारियासको गल्तीमा ८३ औं मिनेटमा अर्को गोलको सामना गर्यो। बेलले करिब ३५ मिनेटमा गरेको प्रहारलाई क्यारियसले हातबाट फुत्काएपछि रियलको जित निश्चित भयो ।