३ मंसिर २०८१, सोमबार
काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज पनि भेटवार्ता हुँदैछ। छलफलका लागि प्रधानमन्त्री ओलीलाई भेट्न अध्यक्ष प्रचण्ड भर्खरै प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।
उनीहरूबीच केहीबेरमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल हुनेछ। ६ असोजमा बसेको नेकपा केन्द्रीय सचिवालय बैठकले तत्काल मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद् पुनर्गठन दुई अध्यक्षको सहमतिमा गर्ने भनिएको थियो।
त्यसयता बिहीबार, शुक्रबार र आइतबार दुई अध्यक्षबीच छलफल भएपनि सहमति जुट्न सकेको छैन। केही मन्त्री मात्र फेर्ने कि अधिकांश मन्त्री फेर्ने भन्ने विषयमा उनीहरूबीच सहमति बन्न नसकेको बताइन्छ।
प्रधानमन्त्री ओली बढीमा ६ जना मन्त्री फेर्ने मनस्थितिमा छन् भने दाहाल पुनर्गठनकै सन्देश दिने गरी बहुसंख्यक मन्त्री फेर्नुपर्ने र सचिवालयका केही सदस्यलाई समेत मन्त्रिमण्डलमा समेट्नुपर्ने पक्षमा छन्।
भौतिक पूर्वाधार तथा यातायात, उर्जा, जलश्रोत तथा सिँचाई र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय फुटाउने विषयमा समेत दुई अध्यक्षबीच छलफल भइरहेको निकट नेताहरू बताउँछन्। यद्यपि, विभिन्न विकल्पमा छलफल भएपनि उनीहरूबीच ठोस सहमति भने भएको छैन।
“छलफल निरन्तर चलिरहेकै छ। विभिन्न विकल्पमा छलफल भएको भन्ने छ। यसको माने ठोस सहमति भएको छैन भन्ने हो”, अध्यक्ष दाहालनिकट स्रोतले भन्यो। आजको छलफलबाट ठोस सहमति हुने अपेक्षा गरिएको छ।
मन्त्रिपरिषद्को अघिल्लो बैठकमा प्रधामन्त्री ओलीले ‘केही साथीहरूसँगको यो अन्तिम बैठक हुनसक्छ’ भनेका थिए। तर, आइतबारको मन्त्रिपरिषद् बैठकमा भने यी कुनै विषयमा कुरा नगरेको एक मन्त्रीले बताए। आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएकाले मन्त्रीहरूको समेत विशेष चासो थियो। तर, मन्त्रिपरिषद् पुनर्गठन र मन्त्रालय टुक्र्याउने विषयमा ओलीले बैठकमा केही नभनेको ती मन्त्रीले बताए।