नेविसङ्घद्वारा भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाहीकाे माग

होमल्याण्ड खबर

२०७७ आश्विन १५ गते, बिहीबार १३:१३ मा प्रकाशित

काठमाडाैं, १५ असाेज । नेपाल विद्यार्थी सङ्घ ‘नेविसङ्घ’ले कक्षा ११ को भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाहीकाे माग गरेकाे छ ।

नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी कक्षा ११ को भर्नाको समयमा निजी शैक्षिक संस्थाले मनलाग्दो शुल्क लिएको व्यापक गुनासो आएकाले तत्काल नियमन गरी आवश्यक कारबाही गर्नुपर्ने बताए ।

काेराेनाकाे महामारीका कारण पढाइ नभइरहेको अवस्थामा भर्नाका नाममा चर्को शुल्क लिने विद्यालयलाई कडा कारबाही गर्नु उनकाे भनाइ छ ।

नेविसङ्घले डा गोविन्द केसीले उठाएका जायज मागको सम्बोधन गरी डा केसीको जीवनरक्षा गर्न सरकारसँग मागसमेत गरेको छ । यस्तै बझाङकी १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्यामा संलग्नलाई तत्काल कडा कारबाही गर्नुपर्ने बताएको छ ।

नेविसङ्घका महामन्त्री दीपक भट्टराईले लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको नक्सासहितको पाठ्यक्रम विक्री वितरण खुला गर्नुपर्ने बताए । पुस्तकमा तथ्यगत त्रुटि छ भन्ने बहानामा पुस्तक वितरणमा सरकारले ढिलाइ गर्न नहुने उनकाे भनाइ छ।