३ मंसिर २०८१, सोमबार
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले प्रदेशहरुका नाम जाती र भाषाको पहिचानको आधारमा नराखेको भन्दै विरोध जनाएका छन् । उनले भूपि शेरचनको कविता ‘मरेर शहीद हुनेहरू हो, बाँचेर त हेर,बाँच्न झन् गाह्रो छ !’ स्मरण गर्दै केपी ओली नेतृत्वको सरकारको आलोचना गरेका छन् ।
ट्वीट गर्दै बाबुरामले जाती र भाषाको आधारमा प्रदेश नामकरण गर्दा देश टुक्रिन्छ भन्नेहरुलाई भारत र अमेरिकाले जाती र भाषाकै आधारमा राज्य बनाएका उदाहरण देखाएका छन् । उनले लेखेका छन्, ‘हाम्रा प्रदेशका नाम नदी, भूगोलको पहिचानमा मात्र राख्नपर्ने तर विविध जाति÷भाषाको पहिचानमा राख्न नहुने ? यो कहाँको मार्क्सवाद, लोकतन्त्र, संघीयता हो ?’
भट्टराईले थपेका छन्, ‘‘भारतमा तमिलनाडु, बंगाल, पन्जाब आदि अधिकांश जाती र भाषाको नाममा राज्य हुँदा देश नटुक्रने तर नेपालमा टुक्रने ?’ विगतमा मगरात, तमुवान, ताम्सालिङ्, नेवाः स्वायत्त प्रदेशको पक्षपातीहरु अहिले ‘महेन्द्रपथ’मा लागेको भन्दै बाबुरामले तत्कालीन माओवादी नेताहरुप्रति व्यंग्य गरेका छन् ।
श्री ७ खड्गप्रसादको आदेश पालना गर्दै लुम्बिनी, गण्डकी, वागमती नाममा टेवल ठटाइरहेको देख्दा आफूलाई भूपीको पंक्ति याद आएको बाबुरामको तर्क छ । उनले माओवादी जनयुद्धमा राज्यपक्षबाट ज्यान गुमाउने सबैभन्दा उच्च नेता सुरेश वाग्लेलगायतसँग माफीसमेत मागेका छन् । विवादास्पद अभिव्यक्ति दिएर सधैं चर्चामा आइरहन खोज्ने बाबुराम जातीय राज्यको कुरा गर्दै फेरि चर्चामा आउन खोजेका हुन् ।