३ मंसिर २०८१, सोमबार
काठमाडौं । सुरक्षण मुद्रण (सेक्युरिटी प्रिन्टिङ) प्रेस खरिदको ‘७० करोड कमिसन प्रकरण’मा मुछिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिएका नेकपा सांसद गोकुल बास्कोटा पुनः मन्त्री बन्ने भएका छन् ।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बास्कोटालाई पुनः मन्त्रिपरिषदमा फर्काउन लागेका हुन् ।
मन्त्रिपरिषद हेरफेरको विषयमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँगको छलफलका क्रममा ओलीले नयाँ मन्त्रीका रुपमा गोकुल बास्कोटाको नाम पनि अगाडि सारेका हुन् ।
मन्त्रिपरिषद हेरफेर गर्ने विषयमा अर्का अध्यक्ष प्रचण्डसँगको छलफलका क्रममा प्रधानमन्त्री ओलीले पूर्व एमालेबाट मन्त्री बन्ने भनेर ६ जना सांसदको नाम अगाडि सारेका छन् ।
बिहीबार दुई नेताबीच भएको छलफलमा ओलीले पार्टी महासचिव विष्णु पौडेलसहित पूर्व एमालेका तर्फबाट ६ जनाको नाम अगाडि सारेका थिए ।
ओलीले मन्त्रीका लागि महासचिव विष्णु पौडेलसहित नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, तुलसा थापा, महेश बस्नेत र गोकुल बास्कोटाको नाम अगाडि सारेका हुन् ।
ओलीले नयाँ मन्त्रीका लागि पूर्व एमालेका तर्फबाट ६ जनाको नाम अगाडि सारे पनि प्रचण्डले त्यसमा कुनै प्रतिक्रिया नदिएको नेकपाका एक स्थायी कमिटी सदस्य बताउँछन् ।
तर, कुन नेतालाई कुन मन्त्रालयको जिम्मा दिने भन्ने विषयमा भने दुई अध्यक्षबीच सहमति जुट्न नसेकेको ती स्थायी कमिटी सदस्य बताउँछन् ।
प्रधानमन्त्री ओलीले अहिले कायम रहेका ५ जना मन्त्रीलाई हटाएर ८ जना नयाँ मन्त्री ल्याउने प्रस्ताव प्रचण्डलाई सुनाएका थिए ।
थपिने ८ जना मन्त्रीमध्ये ५ जना पूर्व एमालेबाट र ३ जना पूर्व माओवादीबाट हुने जनाइएको छ ।
ओली र प्रचण्डबीच बिहीबार बालुवाटारमा भएको छलफलबारे ‘जानकार’ नेकपा ती स्थायी कमिटी सदस्य पूर्व माओवादीबाट मन्त्री बन्ने २ जनाको नाममा सहमति जुटिसकेको पनि बताउँछन् ।
पूर्व माओवादीबाट जनार्दन शर्मा (प्रभाकर) र देवेन्द्र पौडेल मन्त्री बन्ने पक्का भइसकेको छ । दुई अध्यक्षबीच थप कुनै विषयमा विवाद वा सहमति नभए प्रभाकर र पौडेल मन्त्री बन्ने लगभग पक्कापक्की जस्तै भएको ती स्थायी कमिटी सदस्य बताउँछन् ।
नयाँ बन्ने मन्त्रीको पोर्टिफोलियो तोक्ने विषयमा प्रधानमन्त्री ओली पार्टीले ‘हस्तक्षेप’ नगरोस् भन्ने पक्षमा रहेका छन् ।
उनले अध्यक्ष प्रचण्डसँगको भेटका क्रममा पनि नयाँ बन्ने मन्त्रीहरुको पोर्टफोलियो आफैंले तोक्ने सन्देश दिएका छन् ।