३ मंसिर २०८१, सोमबार
काठमाडौ: नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का नेता सुवास नेम्वाङले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपा संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका यमलाल कँडेललाई थप कदम नचाल्न सुझाव दिएका छन् । पार्टीको प्रतिनिधि सभाका संसदीय दलका उपनेता नेम्वाङलाई मंगलबार बिहान कँडेलले टेलिफोन गरेर अब चाल्नुपर्ने प्रक्रियाबारे सुझाव मागेका थिए ।
तर, नेम्वाङले पार्टीका दुई अध्यक्ष छलफलमा जुटकाले प्रधानमन्त्रीको निर्देशन नआएसम्म कुनै प्रक्रिया अगाडि नबढाउन सुझाव दिएका छन् । त्यसअगाडि त्यहाँका मन्त्रीहरुले नेम्वाङसँग टेलिफोन सम्वाद गरेका थिए । ‘मैले राजीनामा नदिनुहोस् भनेको छु, राजीनामाले समस्या झनै बढाएर लैजान्छ’, नेम्वाङले भने ।
नेम्वाङको टेलिफोनपछि कर्णालीमा अविश्वासको प्रस्तावका पक्षमा रहेका मन्त्रीहरुले राजीनामा दिएका छैनन् । अविश्वासको प्रस्ताव दर्ता गराउने नेतृत्व गरेका यमलाल कँडेलको पक्षमा कर्णाली प्रदेशमा दुई मन्त्री छन् । कँडेलको सिफारिसमा मन्त्री भएका दल रावल र सुन्दाससिंह बुढाले राजीनामा गर्न लागेको नेम्वाङलाई जानकारी दिएका थिए । तर, नेम्वाङले उनीहरुलाई राजीनामा नदिन र थप कुनै प्रक्रियामा सामेल नहुन निर्देशन दिएका छन् ।