३ मंसिर २०८१, सोमबार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईबाट आफूसहित अन्य २ जना पूर्वप्रधानमन्त्रीमाथि लगाएको ‘आर्थिक अनियमितता’को आरोपमा कुनै सत्यता नभएको बताएका छन् ।
६५ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री एवम् समाजवादी जनता पार्टीका नेता डा भट्टराईले लगाएको आरोपमा कुनै सत्यतता नभएको बताएका हुन् ।
‘नेपाल सरकारले भ्रष्टाचारविरुद शुन्य सहनशीलताको नीति लिएको छ । केही गैर जिम्मेवार तत्वहरुले गैरजिम्मेवार तरिकाले बोलेर हिँडेको पनि मैले सुनेको छु,’ प्रधानमन्त्री ओलीले भने, ‘एउटा निर्णय नभएको, कसैले नलिएको, कार्यारम्भ नभएको आयोजनामा पूर्व प्रधानमन्त्री, वर्तमान प्रधानमन्त्री समेतले यति अर्ब बाँडेर खाए भन्ने गैर जिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु । हामी त्यस्तो गैरजिम्मेवार र अनैतिक हुन सक्दैनौं, त्यस्ता हर्कत हामी गर्न सक्दैनौं ।’
पूर्वप्रधानमन्त्री भट्टराईले गलत कुराको प्रचार गरेको पनि प्रधानमन्त्री ओलीको भनाइ छ ।
पूर्वप्रधानमन्त्री भट्टराईले आफ्नो गृहजिल्ला गोरखामा केही दिन अघि आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीसहित २ जना पूर्वप्रधानमन्त्रीहरुले बुढीगण्डकी जलविद्युत आयोजनामा आर्थिक अनियमितता गरेको आरोप लगाएका थिए ।
प्रधानमन्त्री ओलीसहित नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बुढीगण्डकी परियोजनामा ९ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण आफूसँग रहेको बताएका थिए ।
सत्तारुढ नेकपाका दुईजना अध्यक्ष ओली र प्रचण्डविरुद्ध आर्थिक अनियमितताको आरोप लगाएपछि नेकपाले उक्त आरोपको खण्डन गरेको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले केही दिन अघि एक विज्ञप्ती जारी गर्दै भ्रष्टाचार गरिएको भनिएको विषय प्रमाणित गर्न भट्टराईलाई चुनौती दिएका थिए ।
यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सभापति देउवाविरुद्ध भट्टराईले लगाएको आरोपमा कुनै सत्यता नभएको भन्दै खण्डन गरेको थियो ।