३ मंसिर २०८१, सोमबार
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा ‘सचिवालय बैठक’ बोलाएका छन् ।
बैठकमा प्रधानमन्त्री बाहेक अन्य ७ जना सचिवालय सदस्यलाई उपस्थित हुन भनिएको छ । प्रचण्डको अध्यक्षतामा बस्ने बैठकमा सचिवालय सदस्यहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा (बादल) तथा महासचिव विष्णु पौडेललाई बोलाइएको हो ।
पार्टीका प्रवक्ता समेत सचिवालय सदस्य श्रेष्ठले प्रचण्डले शुक्रबार दिउँसो ३ बजे धुम्बाराहीमा सचिवालय सदस्यहरुलाई छलफलका लागि बोलाएको जानकारी दिए ।
प्रचण्डले बिहीबार दिउँसो अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटबारे ब्रिफिङ गर्न सचिवालय सदस्यहरुलाई धुम्बाराही बोलाएका हुन् ।
ओली र प्रचण्डबीच बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो ।
यसअघि प्रचण्डले गत आइतबार ईश्वर पोखरेल र विष्णु पौडेल बाहेकका सचिवालय सदस्यहरुसँगको छलफलका क्रममा प्रधानमन्त्री ओलीबाट ‘सहमतिमै पार्टी फुटाऔं’ भन्ने प्रस्ताव आएको बताएका थिए ।
प्रचण्डले ओलीको प्रस्तावबारे ६ जना सचिवालय सदस्यहरुलाई ब्रिफिङ गरेपछि नेकपा भित्रको आन्तरिक विवाद पुनः विभाजनको संघारमा पुगेको पक्ष बाहिरिएको थियो ।