३ मंसिर २०८१, सोमबार
नेपाल कम्युनिष्ट पार्टी नेकपाका बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठक आज पनि बस्दैछ । सचिवालय बैठक बाेलाउन प्रधानमन्त्री ओली सहमत नभएपछि प्रचण्ड-नेपाल समूह धुम्बाराहीमा बैठक बोलाउने तयारीमा जुटेका हुन् ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच आज दिउँसो ४ बजे फेरि छलफलको समय तय भएको छ ।
ओलीले बैठक नबोलाए कार्यकारी अध्यक्ष दाहालले नै बैठक बोलाउने विषयमा पनि छलफल भएको बताइएको छ ।
तर यसको नेताहरुले आधिकारिक पुष्टि भने गरेका छैनन् । ओलीले दाहालसँग यसअघि भएको वार्तामा आफ्नो सहमतिबिना बैठक बोलाइए फुटको बिन्द त्यही हुने चेतावनी दिएका छन् भने आफ्नो समूहका नेताहरुको बैठक लगातार राखेका छन् ।
पार्टीभित्रको पेचिलो बन्दै गएको विवादबीच नेकपाका महासचिव विष्णु पौडेललाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सोमबार खुमलटार पठाएका थिए । पाँच सदस्यले पठाएको पत्रमा तोक लगाएर अध्यक्ष ओलीले विधानअनुसार गर्नू भनेका थिए । तर, महासचिव पौडेलले कुनै ‘मूर्त सन्देश’ नल्याएको भन्दै दाहालले बैठकभन्दा पनि सहमति खोजेको बताएका थिए ।
खुमलटार स्रोतका अनुसार महासचिव पौडेलले शनिबार बहुमत सदस्यले बैठक डाक्न सहमतिको माग गर्दै पठाएको पत्रमा ओलीले लगाएको ‘तोक–आदेश’ बोकेर गएका थिए ।