३ मंसिर २०८१, सोमबार
नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले विमलेन्द्र निधि सभापतिकाे उमेदवार बन्दा कांग्रेसकाे हित हुने र गुटबन्दी पनि हट्ने बताएका छन् । १४अाैं महाधिवेशनमा सभापतिकाे दाबेदारका रूपमा रहेका निधि सभापति भएमा पार्टीमा लामाे समयदेखि रहेकाे गुटबन्दी अन्त्य हुने पनि रिजालले बताए । हिमाल साप्ताहिकसँगकाे अन्तर्वार्तामा उनले निधिको उम्मेदवारीलाई सकारात्मक रुपमा लिएको बताएका छन् ।
“ यदि उहाँ (निधि) सभापतिको उम्मेद्वार हुनुभयो भने एक त मधेशी समुदायका नेताको नेतृत्व कांग्रेसले पाउँने सम्भावना रहन्छ। यो आफैंमा ठूलो कुरा हो। निधी उम्मेद्वार हुँदा सभापती पदमा दुई भन्दा बढी उम्मेद्वार हुन्छन् र यसले पार्टीमा रहेको दुई पक्षिय गुटबन्दीको अन्त्य हुनेछ। उहाँ मधेशी समुदायको मात्रै नेता हो भनेर चाहिं सोच्नुहुँदैन, निधिजी सबैको नेता हो। तर, मधेशी समुदायको नेता पार्टी सभापतिको उम्मेद्वार* हुँदा सन्देश पनि राम्रो जान्छ। उहाँ सबै नेपालीलाई बलियो नेतृत्व दिन सक्ने नेता हो, ” रिजालले हिमालसँग भनेका छन् ।
त्यस्तै उनले अन्तर्वार्तामा महाधिवेशनको मिति नै त ठूलो कुरा नभएकाे भन्दै यही अवस्थामा महाधिवेशन गर्न केही कठिनाइ रहेकाे बताएका छन् । अहिलेको प्रमुख विषय, विगतदेखिको अनुभवबाट पनि देखिएको विषय क्रियाशील सदस्यताको विवाद भएकाे भन्दै रिजालले भनेका छन्, “ क्रियाशील सदस्यता प्रमाणित केन्द्रीय सभापतिको हस्ताक्षरबाट हुन्छ। त्यो प्रक्रिया टुंगो लगाएर, त्यसपछि डेढ महीनादेखि बढीमा दुई महीनाभित्र वडादेखि केन्द्रको महाधिवेशन सम्पन्न गर्न सकिन्छ भन्ने हाम्रो विश्वास हो। त्यही भएर क्रियाशील सदस्यतालाई टुंगो लगाउने प्रक्रियाबारे सहमति भएको छ। यो विषय विवादरहित रुपमा टुंगियो भने महाधिवेशनको बाँकी कार्यतालिका सहज बनाउन सकिन्छ। मितिबारे केन्द्रीय कार्यसमितिमा छलफल हुनु पनि पर्दैन, पदाधिकारी बसेर एउटा मिति प्रस्ताव गरे पनि भइहाल्छ भन्ने मोटामोटी सहमति भइसकेको छ।´´