विप्लवका गतिविधि बढेपछि हुम्लाका गाउँगाउँमा सुरक्षा गस्ती शुरु

होमल्याण्ड खबर

२०७७ मंसिर १२ गते, शुक्रबार १२:५५ मा प्रकाशित

प्रतिवन्धित पार्टि नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाकाे गतिविधी बढेकाे आशङ्कामा हुम्लाका गाउँ गाउँमा प्रहरीकाे सूरक्षा गस्ती खटाइएकाे छ ।

विप्लव समुहकाे गतिविधी बढेकाे आशङ्कामा हुम्लाकाे शान्ति सूरक्षालाई मध्यनजर गर्दै तीनवटै सूरक्षा निकायले आफ्ना गस्ती परिचालन बढाएकाे हाे । जिल्ला प्रहरी कार्यालय हुम्ला र सशस्त्र प्रहरी बल हुम्लाले संयुक्तरूपमा नागरिकको सुरक्षाका लागि गाउँस्तरसम्म पहिलोपटक गस्ती परिचालन शुरु गरेको छ ।

सशक्तरूपमा सुरक्षा सतर्कता बढाउन संयुक्त टोली मङ्सिर ६ गतेदेखि विकट गाउँमा सुरक्षा गस्ती गर्न थालेको सशस्त्र प्रहरी बल हुम्लाका प्रहरी नायब उपरीक्षक मोहन विष्टले जानकारी दिए ।

पहिलोपटक मङ्सिर ६ गतेदेखि जिल्ला सदरमुकामबाट परिचालित टोली तल्लो क्षेत्रको सर्केगाडलगायतका गाउँसम्म गस्ती गरेर सिमकोट फिर्ता भएको छ भने पुनः जाने तयारी भइरहेको विष्टले जानकारी दिए ।

पन्ध्र नेपाल प्रहरी र १५ सशस्त्र प्रहरी बलका गरेर ३० जना सुरक्षाकर्मीको टोलीले केही दिन अगाडि गाउँसम्मै गस्ती गरेर सदरमुकाम फिर्ता भएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयले हुम्ला हरपल जनताको सुरक्षा लागि सधैँ तत्पर रहेको जनाएको छ । प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर केही दिनमा पुनः गाउँस्तरसम्म गस्ती परिचालन गरिने भएको छ ।

केही दिन अगाडि सदरमुकाम सिमकोटस्थित कृषि विकास कार्यालयको मूलगेटमा दुईवटा सकेट बम राखिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले आफ्नो गस्तीलाई बढाएका छन् । गाउँगाउँमा सुरक्षा गस्ती परिचालन भएको हुम्लामा पहिलोपटक हो ।