आज बस्ने सचिवालय बैठकमा ओली सहभागी हुने

होमल्याण्ड खबर

२०७७ मंसिर १७ गते, बुधबार १३:०५ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पार्टीको आज बस्ने केन्द्रीय सचिवालयको बैठकमा सहभागी हुने भएका छन् । मंगलबार बसेको सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँगको भनाभन पछि ओली बैठकको औचित्य नभएको भन्दै बाहिरिएका थिए ।

त्यसपछि ओलीले कार्यव्यवस्तताको कारण देखाउँदै आफू निकट नेताहरुमार्फत आज (बुधबार) बस्ने सचिवालय बैठकमा उपस्थित नहुने सन्देश दिएका थिए ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार समेत रहेका नेकपाको प्रचार विभागका उपप्रमुख सूर्य थापाले प्रधानमन्त्री ओली कार्यव्यस्तताका कारण बुधबारको बैठकमा सहभागी नहुने बताएका थिए । तर, बुधबार बिहान आफू निकट नेताहरुसँगको छलफल पछि ओली सचिवालय बैठकमा जाने मनस्थितिमा पुगेका हुन् ।

मंगलबार बसेको सचिवालय बैठकमा ओलीले आफूविरुद्ध कार्यकारी अध्यक्ष प्रचण्डले विभिन्न आरोप लगाउँदै दर्ता गरेको प्रस्ताव खारेज गर्न माग गरेका थिए । प्रस्तावमा छलफल आवश्यक नभएको र बैठक पनि बस्न आवश्यक नभएको ओलीको भनाइ थियो ।

प्रस्तावमाथिको छलफल र बैठक नै नबस्ने भन्ने ओलीको अभिव्यक्तिको प्रचण्डले प्रतिवाद गर्दै बुधबार बैठक बस्ने बताएका थिए । प्रस्तावमाथि छलफल नगर्ने र बैठक नबस्ने ओलीको धारणाको अरु सचिवालय सदस्यहरुले समेत विरोध गरेका थिए ।

मंगलबारको बैठकमा प्रचण्डले कात्तिक २८ गतेको सचिवालय बैठमा पेश गरेको प्रस्ताव तथा त्यसको जवाफ दिँदै ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल शुरु गर्ने निर्णय भएको थियो ।

मंगलबारकै बैठकको निर्णयानुसार आज (बुधबार) बस्ने नेकपा सचिवालय बैठकमा दुवै अध्यक्षका प्रतिवेदन (प्रस्ताव)माथि छलफल हुने जनाइएको छ ।