४ मंसिर २०८१, मंगलवार
राष्ट्रिय मानव अधिकार आयोगले मोरङमा शिक्षक हत्याको विरोध गर्दै दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ ।
मोरङको मिक्लाजुङ गाउँपालिका —१ मा सरस्वती माध्यामिक विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको प्रतिबन्धित विप्लव समूहले हत्या गरेको थियो । विप्लव समूहले मंगलबार बिहान घरबाट अपहरण गरी श्रेष्ठको घाँटी रेटेर हत्या गरेका हुन् ।
आयोगले बुधबार विज्ञप्ति जारी गरी कुनै पनि व्यक्तिलाई विचार आस्था र आशंकाको आधारमा स्वेच्छाचारी रुपमा पक्राउ गर्ने र यातना दिने कार्य नगर्न विप्लव समूहलाई आग्रह गर्दै दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई आग्रह गरेको हो । त्यस्तै पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।
विप्लव समूहले भने श्रेष्ठले समूहविरुद्ध सुराकी गरेकाले सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारमा मृत्यु भएको दाबी गरेको छ । मंगलबार साँझ मेची–कोशी ब्युरोका इञ्चार्ज प्रतापले विज्ञप्ति जारी गर्दै घटनाको जिम्मेवारी लिएका हुन् ।
शिक्षकको हत्या भएपछि मोरङको मिक्लाजुङमा त्रास बढेको छ । आयोगको प्रदेश कार्यालय बिराटनगरले घटनाको अनुगमन गरिरहेको जनाएको छ ।