उपचारका लागि कमानसिंहले प्रधानमन्त्रीदेखि प्रचण्डसम्मलाई गुहारे तर, नारायणकाजीले पैसा दिएनन्

होमल्याण्ड खबर

२०७७ मंसिर २६ गते, शुक्रबार ०६:३६ मा प्रकाशित

नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको निधन भए लगत्तै उनी सँग नारायण काजी श्रेष्ठको लेनदेन भएको आरोप लगाउँदै एक भिडियो सार्वजनिक भएको छ। लेनदेन भएको कुनै प्रमाण नभएको उक्त भिडियोलाई नेकपाकै एउटा पक्षले जोड तोडले प्रचार गरिरहेको छ। पार्टी अध्यक्ष पुष्पकमल दहाल पक्षले भने यसलाई षडयन्त्रको संज्ञा दिएको छ ।

यो विषयमा नेकपाका विद्यार्थी नेता सुरेन्द्र बस्नेत भन्छन् “नेता नारायणकाजी श्रेष्ठले पूर्व सांसद कमानसिंह लामासङ गफगाफ गरेको अडियो र भिडियो राम्रोसँग दोहोराएर सुनियो । त्यस अडियो वा भिडियोमा न त नारायणकाजी श्रेष्ठले कसैसँग पैसा मागेको सुनिन्छ न त कसैले उहाँलाई ‘ तिमीले पैसा खान खोज्यौ अथवा तिमीले मेरो आर्थिक हिनामिना गरेऊ ‘ भनेर भनेको नै छ । बरु नेताका हिसाबले कमरेड नारायणकाजीले आफूसँग नजिक रहेका पार्टीका जिम्मेवार कमरेडहरूका बिचमा उत्पन्न व्यावसायिक असमझदारीलाई मिलाउन प्रयास गर्ने सन्दर्भमा ‘ तपाईँहरू दुवै पक्ष मेरो परिवार जस्तै हो मिल्नुस् र मिलाउनुस् ‘ भनेको सुनिन्छ । गलत नियत र उद्देश्यका साथ आएको यो अडियले कमरेड नारायणकाजीलाई बदनाम गराउने एउटा झिनो प्रयास बाहेक अरू केही पनि होइन भन्ने स्पष्ट रूपमा बुझ्न सकिन्छ। त्यसैले यस वाट कोही दिग्भ्रमित हुनु जरुरी छ जस्तो लाग्दैन ।”

अन्तिम झन्डा नारायण काजीले नै ओढाएका थिए 
नारायण काजी श्रेष्ठ एकता केन्द्रका प्रमुख नेता थिए भने कमान सिङ लामा उनका अत्यन्तै निकट सहकर्मी थिए । यो सम्बन्ध एकता केन्द्र बाट एकता केन्द्र मसाल , नेकपा (माओवादी) हुँदै नेकपा बन्दा सम्म पनि जीवितै थियो । त्यसैले उनी व्यावसायिक होस वा पारिवारिक सबै समस्यामा नारायण काजीको कुरा सुन्थे। त्यो भिडियो पनि त्यसकै प्रमाण हो र अन्तिममा कमानलाई झन्डा ओढाएर बिदा गर्ने पनि नारायण काजी नै हुन।

उनै नारायण काजीलाई मित्र वियोगको शोकमा परेको बेला , कमान सिङको अनुपस्थितिमा उनलाई नै हतियार बनाएर चरित्र हत्या गर्ने प्रयास गरिएको नेकपाका एक नेता बताउछ्न ।