४ मंसिर २०८१, मंगलवार
काठमाडौँ : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउन माग गरेको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले आज एक विज्ञप्ति जारी गर्दै संविधानको रक्षक मानिने राष्ट्रपतिले लोकतन्त्रको मर्मविपरित संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको आरोप लगाउँदै राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउन माग गरेका हुन् । उनले प्रधानमन्त्री केपी ओलीलाई पनि अविश्वासको प्रस्ताव ल्याएर हटाउन माग गरेका छन् ।
विज्ञप्तिमा प्रमुख प्रतिपक्षी दल लगायतले संसद बैठकको माग गरिरहेका हतासमा संविधानको भावनाविपरीत अध्यादेश ल्याएर राष्ट्रपति र प्रधानमन्त्रीले देशलाई बन्धक बनाउन खोजेको आरोप लगाइएको छ ।
विज्ञप्तिमा राष्ट्रपतिको भूमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिएकोले राष्ट्रपतिलाई महाअभियोग र संसदलाई बन्धक बनाउने प्रधानमन्त्री ओलीलाई अविश्वसको प्रस्तावमार्फत पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त दिनुपर्ने उल्लेख गरिएको छ ।
मुलुक कोरोनाको महामारीमा रुमलिरहेका बेला महिनौदेखि संसदलाइ बन्धक बनाएर र उपसभामुख जस्तो गरिमामय पद खाली राखेर प्रधानमन्त्रीले आफ्नो स्वेच्छाचारी तरिकाले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश अत्यन्तै अलोकतान्त्रिक, संविधानको मर्म र भावना विपरीत रहेको विज्ञप्तिमा जनाइएको छ ।