४ मंसिर २०८१, मंगलवार
काठमाडौं: ‘नेकपा’ का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’,माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल राष्ट्रिय अनुसन्धान विभागकाे उच्च निगरानीमा रहेका छन्।
गुप्तचरको नामले चिनिने राष्ट्रिय अनुसन्धान विभागले प्रचण्ड, नेपाल र खनालविरुद्ध उच्च निगरानी सुरु गरेको हाे । नेकपा विभाजनपछि प्रधानमन्त्रीकै निर्देशनमा गुप्चरले उनीहरुका गतिविधिविरुद्ध निगरानी सुरु गरेको छ ।
प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गर्नुअघि नै आफूविरुद्ध बोल्ने सबै नेताहरुका क्रियाकलाप, उनीहरुले गर्ने भेटघाटलगायत गतिविधिविरुद्ध उच्च निगरानी राख्न निर्देशन दिएको स्रोतले बतायो ।
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयकै महातत छ । गुप्तचर स्रोतका अनुसार विगतमा समेत उच्च नेताका निवासवरपर निगरानी रहँदै आएको र विभाजनपछि उनीहरुले गर्दै आएका भेटघाटका सूचना संकलन गर्न अझै सक्रियता बढाइएको छ । प्रचण्ड, नेपाल र खनाल तीनैजना पूर्वप्रधानमन्त्रीसमेत हुन् ।
राष्ट्रिय अनुसन्धान विभागले सोझै प्रधानमन्त्रीलाई रिपोर्टिङ गर्ने गरेको छ । सादा पोसाकमा परिचालित हुने राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले तीनजना नेताहरुको निवास वरपर खटिएका छन् ।