राष्ट्रपति सीको सन्देश बोकेर काठमाडौं ओर्लियो चिनियाँ टोली

होमल्याण्ड खबर

२०७७ पुष १२ गते, आईतवार १४:४७ मा प्रकाशित

संसद् विघटनसँगै सत्तारुढ नेकपामा विभाजन आएपछि राजनीतिक संकट बढेका बेला चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले नेतृत्व गरेको प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको छ।

सो टोली एयर चाइनाको चेङ्दू–काठमाडौं उडानबाट साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। नेकपा विभाजनको कारण खोतल्ने र राजनीतिक स्थिरताका सम्भावना खोज्ने उद्देश्यले राष्ट्रपति सी चिनफिङको सन्देश बोकेर हतारमा चिनियाँ टोली काठमाडौं उत्रिएको हो।

बेइजिङबाट सिचुवानको चेङ्दु हुँदै काठमाडौं आइपुगेको पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चिनियाँ टोलीमा विभागका निर्देशकसहित चार जना रहेका छन्।

चिनियाँ टोलीले नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा नेकपाको अर्को समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।