४ मंसिर २०८१, मंगलवार
काठमाडौँ : प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्ने भएको छ । कांग्रेसले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शनका साथै सभा गर्न लागेको हो ।
कांग्रेसले प्रधानमन्त्री ओलीले गरेको संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको सन्देश दिन देशभर प्रदर्शनको तयारी गरेको हो ।
प्रदर्शन र सभाका लागि शीर्ष तथा केन्द्रीय तहका नेताहरु आफ्नो निर्वाचनमा पुग्दैछन् ।
सभापति शेरबहादुर देउवा भक्तपुरमा हुने विरोधसभामा सहभागी हुने भएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल तनहूँको प्रदर्शनमा सभागी हुने छन् ।
यस्तै महामन्त्री डा. शशांक कोइरालाले नवलपुर, पूर्व महामन्त्री प्रकाशमान सिंहले नयाँ बानेश्वर, प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वर, केन्द्रीय सदस्यहरु नवीन्द्रराज जोशीले बसन्तपुर र गगन थापाले नेपालगन्जमा आयोजना हुने विरोध सभालाई सम्बोधन गर्नेछन् । पार्टी प्रवक्ता शर्माका अनुसार आज काठमाडौंका १५ ठाउँमा सभा र प्रदर्शन हुनेछन् ।
सभापति देउवा नै विघटनको पक्षमा रहेको भन्ने आरोप लागिरहँदा कांग्रेसले आज विरोध प्रदर्शन गर्न लागेको हो । विघटनको विषयमा सभापति देउवा लचिलो भए पनि वरिष्ठ नेता पौडेल समूह भने प्रधानमन्त्रीको असंवैधानिक घोषणाको विरुद्धमा रहेको छ ।
गत मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले असंवैधानिक तवरबाट प्रधानमन्त्री ओली गरेको प्रतिनिधिसभा विघटनविरुद्ध पुस १३ गते (आज) देशभरका १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन तथा सभा गर्ने निर्णय गरेको थियो ।