जसपामा पनि बढ्याे विभाजनको खतरा

होमल्याण्ड खबर

२०७७ पुष १३ गते, सोमबार १५:५८ मा प्रकाशित

एकता प्रक्रिया नटुंगिँदै जनता समाजवादी पार्टी नेपाल ‘जसपा’मा तिव्र विवाद देखिन थालेकाे छ ।  नेकपा विभाजित बनेको अवस्थामा जसपामा पनि उस्तै खाले आन्तरिक विवाद देखिएको सो पार्टीका एक नेताले बताएका छन् । गत वैशाख १० गते एकता घोषणा भइ दुई अध्यक्षीय प्रणालीबाट चलेको पार्टीमा तीनजना अध्यक्ष छन् । महन्थ ठाकुर र उपेन्द्र यादव केन्द्रीय समितिका अध्यक्ष रहेका छन् भने डा।बाबुराम भट्टराई जसपा संघीय परिषद्का अध्यक्ष रहेका छन् ।  वैचारिक तथा सांगठनिक हिसाबले उपेन्द्र यादव र डा.बाबुराम भट्टराईबीच कुरा मिलेपनि महन्थ ठाकुरको त्यति कुरा मिल्दैन ।

एजेण्डा हिसाबमा कुरा मिलेपनि सैद्धान्तिक रुपमा कुरा नमिलेको नेताहरु बताउँछन् । उपेन्द्र यादव र डा।भट्टराई वामपन्थी विचारधाराका हुन् भने महन्थ ठाकुर डेमोक्र्याटिक लाइनका नेता हुन् । एजेण्डाकै कारण एकता पुरा नहुँदै पार्टीमा अन्तर संघर्ष शुरु भएको हो । यादव र डा. भटट्राईले गर्ने गतिविधिलाई महन्थ ठाकुर पक्षधर नेताहरुले रुचाएका छैनन् भने यादवले पार्टीमा मनपरी गरेको भन्दै ठाकुरले त्यसको विरोध गरेका छन् ।  विरोध मात्र होइन, ठाकुरले आफू निकट अर्थात पूर्व तमलोपाका नेताहरुसँग छुट्टै छलफल समेत थालेका छन् । बबरमहलस्थित तत्कालिन राजपा नेपालको पार्टी कार्यालयमा आफू निकटका नेताहरुसँग उनले यादव र जसपाकै वरिष्ठ नेता राजेन्द्र महतोसमेतको गतिविधिको विरोध गरेका थिए ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेसँगै वैशाख १७ गते र २८ गतेका लागि चुनावको मिति तय गरिएको छ । चुनावी गठबन्धनका लागि यादव र डा. भट्टराईको जोड प्रचण्ड–नेपाल समूहसँग सहकार्य गर्ने रहेको छ भने महन्थ ठाकुर र राजेन्द्र महतोको जोड काँग्रेस र ओली समूहसँग रहेको छ । प्रचण्ड–नेपाल समूहसँग महन्थ ठाकुर र राजेन्द्र महतो जान चाहेका छैनन् ।

महन्थ ठाकुरको पहिलो रोजाई काँग्रेस रहेको छ, त्यसपछि मात्र ओली समूहको नेकपा । राजेन्द्र महतोको पहिलो रोजाई ओली समूहको नेकपाको रहेको छ भने दोस्रो रोजाई काँग्रेस । तर यादव र डा.भट्टराईले प्रचण्ड–नेपाल समूहसँग सहकार्य गरेर जानुपर्ने भन्दै अहिलेदेखि जोड दिँदै आएका छन् ।  यादव र भट्टराईको जोडबलमा  ठाकुर पक्षधर नेताहरुले रुचि नदेखाएपछि आगामी दिनमा थप समस्या आउन सक्ने पार्टीका नेताहरु बताउँछन्  । यही विवादले चुनावी गठबन्धन बनाउने बेलामा जसपा नेपाल विभाजन हुने निकै खतरा रहेको पार्टीका कतिपय नेताहरु बताउँछन् ।