डोरमणिलाई हटाएर अष्टलक्ष्मीलाई संसदीय दलको नेता बनाउने निर्णय

होमल्याण्ड खबर

२०७७ पुष १५ गते, बुधबार १५:११ मा प्रकाशित

नेकपामा दुई समूहबीचको विवाद प्रदेशमा पुगेको छ । यसैबीच प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले वागमती प्रदेशको संसदीय दलको नेताबाट डोरमणि पौडेललाई हटाई अष्टलक्ष्मी शाक्य चयन गरेको छ ।

बुधवार केन्द्रीय कार्यालय पेरिसडाँडामा शाक्यको अध्यक्षतामा बसेको प्रदेशसभा संसदीय दलको बैठकले पौडेलले सोधेको स्पष्टिकरण दिन नपर्ने निर्णय गरेको छ ।

शाक्यलाई यसअघि नै दलको नेता बनाएर मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरी पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएकाले आजको बैठकले त्यसलाई अनुमोदन गरेको छ । पौडेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भइसकेको छ । एक महिनाभित्र उनले विश्वासको मत लिनुपर्नेछ ।

दलको बैठकमा पौडेलले सोधेको स्पष्टीकरणको जवाफ दिन नपर्ने बारे छलफल भएको स्रोतको भनाइ छ । उनी आफैं अल्पमतमा परेर दलको नेता रहेका उनले स्पस्टिकरण सोध्ने हैसियत नराख्ने प्रचण्ड माधव पक्षले बताएको छ ।

११० सदस्यीय प्रदेशसभामा नेकपाका ८१ सांसद छन् । तीमध्ये ४५ जना अष्टलक्ष्मी शाक्यको पक्षमा रहेको खड्काको दावी छ । तर दुवै पक्षले सरकार बनाउन वा टिक्नका लागि कांग्रेसको साथ खोजेका छन् ।