प्रतिनिधिसभा विघटनविरुद्ध काँग्रेसद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

होमल्याण्ड खबर

२०७७ पुष १९ गते, आईतवार १६:२१ मा प्रकाशित

नेपाली कांग्रेसले प्रतिनिधिसभा  विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमको विरोधमा ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ।

पार्टी कार्यालय सानेपामा आइतबार बसेको पदाधिकारी बैठकले आगामी पुस २५ गते विरोध प्रदर्शन गर्ने भएको हो ।

ओलीको कदमको विरुद्धमा आन्दोलन गर्ने या चुनावमा जाने भन्ने विषयमा विवाद हुँदा एक बजेका लागि डाकिएको केन्द्रीय समिति बैठक सुरु हुन सकेको थिएन। पदाधिकारी बैठकको यो निर्णयसँगै केन्द्रीय समिति बैठक सुरु भएको छ ।

कांग्रेसको जारी बैठकमा संस्थापन पक्ष चुनावमा जाने पक्षमा छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल ओलीको असंवैधानिक कदमविरुद्ध आन्दोलनमा जाने अडानमा छ।

तर सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको मुद्धा सर्वोच्चमा विचाराधीन रहेको भन्दै आन्दोलनमा नजाने बताउँदै आएका थिए ।