४ मंसिर २०८१, मंगलवार
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएको छ ।
स्पष्ट २ समूहमा विभाजित भएको नेकपाको एउटा समूहको नेतृत्व पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपाल गरेका छन् भने अर्को समूहको नेतृत्व केपी शर्मा ओलीले गरेका छन् ।
विभाजित हुनु अगाडि नेकपामा ओली र प्रचण्ड दुई अध्यक्ष थिए । दुई जना वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पछि तेस्रो बरियतामा थिए वामदेव गौतम ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण पछि बनेको नेकपामा गौतम लामो समयसम्म केन्द्रीय सचिवालय सदस्य मात्रै थिए । पछि गौतमकै चाहनाअनुसार पार्टीको विधान संशोधन गरी उपाध्यक्ष पद सिर्जना गरिएको थियो ।
विधान संशोधन पछि उपाध्यक्ष बनेका गौतमले पार्टी विभाजित भइसकेपछि भने आफूलाई नेकपाको उपाध्यक्ष भन्न छाडेका छन् । पार्टी विभाजित भइसकेपछि पनि लामो समय ओली र प्रचण्ड–नेपाल कुनै पनि समूहमा नलागेका गौतमले केही दिन अगाडि मात्रै आफ्नै नेतृत्वमा पार्टी एकता अभियान घोषणा गरेका थिए ।
तर, सामाजिक सञ्जालमार्फत प्रेसित एउटा श्रद्धाञ्जलीमा भने गौतमले न त आफूलाई नेकपाको उपाध्यक्ष भनेका छन् न त पार्टी एकता अभियानको संयोजक नै ।
मेडिसिटी अस्पतालका कर्मचारी रोहिणी भट्टराईको निधनमा शोक सन्देश जारी गरेका गौतमले आफ्नो नाम लेख्दै नामको तल ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’ मात्रै लेखेका छन् ।
उनको शोक सन्देशप्रति संकेत गर्दै विभाजित नेकपाका नेताहरुले अब गौतमले उपाध्यक्ष पद त्याग गरेको भनेर टिप्पणी गर्न थालेका छन् ।