डा. भट्टराईले गरे संघीय राजधानी काठमाडौं बाहिर सार्न प्रस्ताव

होमल्याण्ड खबर

२०७७ माघ ६ गते, मंगलवार १३:५१ मा प्रकाशित

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संघीय राजधानी काठमाडौँ बाहिर सार्न प्रस्ताव गरेका छन्।मंगलबार अध्यक्ष भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै संघीय राजधानीलाई उपत्यकाबाहिर सार्न प्रस्ताव गरेका हुन्।

अध्यक्ष भट्टराईले विकास र संरक्षणबीचको अन्तरसम्बन्ध कायम गर्न नसक्दा र भूमाफियालाई छाडा छाड्दा केही दशकमै काठमाडौँ उपत्यका कंक्रिटको जंगल बनेर बस्नै अयोग्य हुने चिन्ता व्यक्त गरेका छन्। उनले यसको अन्त्यका लागि तुरुन्त राष्ट्रिय भू–उपयोग नीति लागू गर्नसमेत माग गरेका छन्।

उनले  ट्विटरमा लेखेका छन्, ‘विकास र संरक्षणबीचको अन्तरसम्बन्ध बुझ्न र सन्तुलन कायम गर्न नसक्दा र क्रोनी क्यापिटालिज्मका मुख्य खलपात्र भूमाफियालाई छाडा छोड्दा काठमाडौँ उपत्यका त केही दशकमा कंक्रिट जंगल बनेर बस्न अयोग्य हुने भयो !  तुरून्त राष्ट्रिय भूउपयोग नीति लागू गरौं१ संघीय राजधानी काठमाडौँ बाहिर सारौं !’