४ मंसिर २०८१, मंगलवार
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र विरोधी भएको आरोप लगाएका छन् । गणतन्त्र आउन सक्दैन भनेर तत्काली नेकपा एमाले पार्टी बैठकमा ओलीले फरक मतसमेत राखेको नेपालको भनाइ छ । आफू निकटका प्रेस संगठनको भेलालाई आज काठमाडौंमा सम्बोधन गर्दै नेपालले भने,‘उहाँ गणतन्त्र विरोधी हुनुहुन्छ। उहाँ गणतन्त्र आउन सक्दैन भन्नुहुन्थ्यो पार्टीमा फरक मत पनि राख्नु भएको थियो ।’
नेपालले पार्टीको सर्वोच्च स्थानमा बसेकाबाट नै उपलब्धि मास्ने काम भएको टिप्पणी गरेका छन् । ‘केपी ओली ऐजरु हो। तपाईंहरू खोजी पत्रकारिता गर्नु हुन्छ । केपी ओलीको झुठो कुरामाथि पनि खोजी गर्नुहोस् ‘, अध्यक्ष नेपालले भने, ‘यही सरकारबाट प्रेसको घाँटी निमोठ्ने काम गरियो । केपी ओलिका सबै गलत फेहरिस्त ल्याउनुहोस् । उनी जहिले पनि असहयोगी नेता हो । मेरो हुर्मत लिने काम गर्नु भएको छ ।’
प्रतिनिधि सभा विघटन गर्ने ओली प्रधानमन्त्री पदमा बस्न नमिल्ने पनि उनले बताए । यद्यपी आफूहरूले प्रतिनिधि सभा विघटन भइसकेको नमान्ने उनको जिकीर थियो। ‘उहाँ कि कामचलाउ प्रधानमन्त्री हुनुपर्यो कि प्रधानमन्त्री छोड्नुपर्यो,’ उनले भने । प्रचण्ड र आफूलाई ओलीले भर्याङ मात्रै बनाएको नेपालको भनाइ छ । ‘उहाँले प्रचण्ड र मलाई भर्याङ मात्रै बनाउनुभयो। कस्तो व्यक्तिलाई मैले प्रधानमन्त्री प्रस्ताव गरेछु,’ उनले भने। उनले ओलीको व्यक्तिवादविरूद्ध आफूहरूको लडाइँ रहेको बताए । उनले विश्वासको जगमा प्रचण्ड र आफू अगाडि बढेको बताएका छन्। यो सहकार्य ४० वर्षदेखि भएको नेपालको भनाइ थियो ।