२७ फाल्गुन २०८२, बुधबार
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाकाे अर्काे खेमा प्रचण्ड-नेपाल समूहले सिनेमा देखाइरहेकाे आराेप लगाएका छन् ।
प्रेस संगठन नेपाल (ओली समूह) को भेलालाई काठमाडौंमा सम्बोधन गर्दै उनले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीचकाे प्रेम चलचित्रमा देखाइने कथा जस्तै भएकाे बताए ।


प्रचण्ड-नेपालले हुँदै नभएको प्रेमलाई पनि औधी प्रेम भए जस्तो देखाइरहेकाे उनकाे भनाइ थियाे ।
‘सिनेमामा के हुन्छ ? हिरो हुन्छ । हिरोइन हुन्छ, लभ पर्या छ, हिरोइन घाइते हुन्छे, हिरो व्याकुल पर्छ । तर केही पनि होइन,’ ओलीले भने, ‘नाटक गर्या हुन् । केही पनि होइन । जनतालाई झुक्याउँछन् । हामीले सचेत गराउनुपर्छ ।’
आफूले सुशासन र समृद्धिको अभियान चलाउँदा प्रचण्ड–माधव नेपाललाई नपचेको पनि उनले बताए ।
प्रधानमन्त्री ओलीले पेरिसडाँडामा बसेर कालो झण्डा उडाउने र सडकमा कालो झण्डा देखाउने नेकपा नभएकाे बताए । ‘हामी पेरिसडाँडामा बसेर कालो झण्डा उडाउनेहरु मध्ये होइनौं । हामी सडकमा कालो झण्डा देखाउनेहरु होइनौँ,’ उनले भने, ‘हामी रातो झण्डा फहराउने हौं ।’