४ मंसिर २०८१, मंगलवार
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–नेपाल समुहको आजबाट तेस्रो चरणको विरोध कार्यक्रम हुने भएको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी प्रचण्ड–नेपाल समूहले माघ १३ अर्थात आजबाट २८ गतेसम्म देशका विभिन्न ठाउँमा सभा र विरोधका कार्यक्रम गर्ने घोषणा गरेका हुन् ।सोही अनुसार आज पहिलो दिन काठमाडौंमा सिट्ठी जुलुस गर्ने भएका छन् ।
प्रतिनिधिसभा विघटनपछि असन्तुष्ट प्रचण्ड –नेपाल समूहले भोलि(बुधबार) देखि २१ गतेसम्म माइतीघर मण्डलामा संविधान सभा सदस्य, सांसद र प्रदेश सभा सदस्यको धर्ना लगायत कार्यक्रम तय गरेको छ ।
यस्तै माघ १५ गते बुटवलमा, १६ गते विराटनगरमा र १७ गते धनगढीमा कार्यक्रम आयोजना गरिएको र उक्त कार्यक्रमलाई अध्यक्षद्वय लगायतले सम्बोधन गर्ने स्थायी कमिटी सदस्य पम्फा भुसालले बताइन्।
यसबीच माघ १६ गते शान्तिबाटिकामा भेला भएर लैनचौरसम्म प्रदर्शन गर्ने जनाएको छ । यस्तै माघ २२ गते काठमाडौंमा युवाहरूको वृहत र्याली गर्ने, २६ गते मसाल जुलुस गर्ने र माघ २८ मा काठमाडौंमा विरोध सभा गर्ने भएको छ ।
माघ ९ गते काठमाडौंमा विरोध सभा गरी यसअघिका आन्दोलनका कार्यक्रम समापन भएको थियो ।
पुस ५ गते प्रधानमन्त्रीको सिफारीसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजन भएको थियो । निर्वाचन आयोगले भने नेकपा विवादलाई वैधानिकता दिन अस्वीकार गरेको छ ।