प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अदालतको अपहेलना मुद्दा दर्ता

होमल्याण्ड खबर

२०७७ माघ १३ गते, मंगलवार १५:२१ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध सर्वोच्चमा अदालतको अपहेलना मुद्दा दर्ता भएको छ ।

९४ वर्षीय वकिल कृष्णप्रसाद भण्डारीले संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइमा बहस गरेको विषयमा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिविरुद्ध वरिष्ठ अधिवक्ता डा कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले दायर गरेको मुद्दा आज दर्ता भएको हो ।

यही माघ ९ गते प्रधानमन्त्री ओलीले कार्की बेन्क्वेटमा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भण्डारीलाई ‘बाजे’ र संवैधानिक इजलासमा भइरहेको बहसलाई ‘तमासा’ को संज्ञा दिएका थिए ।

सोहीविरुद्ध गत आइतबार नै आचार्यले मुद्दा दायर गरेका थि ए। न्यौपानेले पनि प्रधानमन्त्रीको अभिव्यक्तिले अदालतको अपहेलना भएको भन्दै सोमबार मुद्दा दायर गरेका थिए ।

कुनै समयमा केपी ओलीको पक्षमा नै वकालत गरेका भण्डारी कानूनी क्षेत्रका सबैभन्दा पाका व्यक्ति हुन् ।