४ मंसिर २०८१, मंगलवार
निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई पक्षलाई छलफलका लागि बोलाएको छ । आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टा–छुट्टै पत्र लेखी शुक्रबार बिहान ११ बजे छलफलका लागि बोलाएको हो । निर्वाचन सम्बन्धी छलफलका लागि अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५/५ जनालाई बोलाएको हो ।
निर्वाचन आयोगले ओली र प्रचण्डलाई पठाएको पत्रमा निर्वाचनसम्बन्धी छलफल गर्ने मात्रै भनिएको छ । पत्रमा दलसम्बन्धी विवादबारे छलफल गर्ने भनिएको छैन । यद्यपि अहिले नेकपामा दलसम्बन्धी विवाद समेत भएकाले त्यसमा समेत छलफल हुन सक्ने आयोगका एक अधिकारीले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरी आगामी वैशाख १७ र २७ गते आम निर्वाचन (मध्यावधि)को मिति तोकेकी थिइन् । संसद विघटनपछि सत्तारुढ नेकपा भने व्यवहारिक रुपमा विभाजित भइसकेको छ । विभाजित नेकपाको एउटा समूहको नेतृत्व ओलीले गरिरहेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड र माधव कुमार नेपालले गरिरहेका छन् ।
विभाजित नेकपाका दुवै समूहले आफूहरु आधिकारिक भएको भन्दै निर्वाचन चिन्ह (सूर्य) र पार्टीको नाम (नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’) आफूले पाउनुपर्ने दाबी गरिरहेका छन् । दुवै पक्षले आधिकारिता दाबीका लागि निर्वाचन आयोगमा दिएको पत्रका सन्दर्भमा भने आयोगले यसअघि नै ‘निर्णय’ गरिसकेको छ । निर्वाचन आयोगले नेकपाका दुवै पक्षको दाबी नपुग्ने निर्णय गरेको हो ।