फेरि माइतीघरको भुइँमा पलेटी कसेर बसे प्रचण्ड- माधब

होमल्याण्ड खबर

२०७७ माघ १८ गते, आईतवार १२:४१ मा प्रकाशित

संसद विघटनको विरोधमा माइतीघरमा जारी धर्नामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पनि सहभागी भएका छन् । धर्नामा नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल लगायतका नेताहरु पनि सहभागी छन् । संसद विघटन असंवैधानिक भएको भन्दै प्रचण्ड–माधव समूहले यही माघ १४ गतेदेखि माइतीघरमा धर्ना दिँदै आएको छ । धर्नामा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र संविधानसभाका सदस्यहरु सहभागी छन् ।

संसद् भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम खारेजीको माग गर्दै प्रचण्ड–नेपाल पक्षका संघीय एवं प्रदेश सांसद तथा तत्कालीन संविधान सभाका सदस्य ४ दिनदेखि धर्नामा छन् । प्रधानमन्त्री ओलीको सिफारिसअनुसार गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै वैशाख १७ र २७ मा चुनाव गर्ने घोषणा गरेकी छन् । त्यस दिनदेखि सत्तारूढ नेकपाका दुई समूह औपचारिक रूपमा अलग भएका हुन् । प्रचण्ड–नेपाल पक्ष ओलीले असंवैधानिक कदम चालेको भन्दै संसद् पुनःस्थापनाको माग राखेर चरणबद्ध आन्दोलन गरिरहेको छ ।