माइतीघरको धर्नामा भाषण– सुन केपी ओली, तिमिले हिँडेको बाटो गतल छ !

होमल्याण्ड खबर

२०७७ माघ १८ गते, आईतवार १४:१५ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओली झ्यालबाट छिरेर भिरको बाटो लागेको टिप्पणी गरेका छन् । आइतबार नेकपाको प्रचण्ड–माधव समूहले काठमाडौंको माइतीघरमा आयोजना गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले भने, ‘ओली अहिले झ्यालबाट छिरेर भिरको बाटो लागे । प्रतिनिधि सभा विघटन गरेर संविधानलाई मार्ने कुचेष्टा गरे ।’

संविधानलाई मार्ने ‘प्रतिगामी कदम’विरुद्ध देशव्यापी आन्दोलन उठिरहेको उल्लेख गर्दै नेता पाण्डेले प्रधानमन्त्री ओलीले हिँडेको बाटो गलत रहेको पनि टिप्पणी गरे । ‘अहिले हामी सिंहदरबारको छेउमा बेसर त्यसबारेमा आवाज उठाइरहेका छौं, सुन केपी ओली तिमिले हिँडेको बाटो गतल छ । नेपाली जनताले सबै क्षेत्रबाट भनिरहेका छन्,’ नेता पाण्डेले भने । नेता पाण्डेले संसद विघटनविरुद्धको आफूहरुको संघर्षलाई नयाँ महाभारतको रुपमा समेत चित्रित गरे । महाभारतको युद्धमा जस्तै अहिले अन्यायको विरुद्ध संघर्ष गर्नु परिरहेको र, त्यो संघर्षका लागि सयौं ‘अर्जुन’हरु तयार भएको पनि जिकिर गरे ।

‘आज हामी एउटा नयाँ युद्धमा छौं, नयाँ संघर्षमा छौं, मैले यसलाई आधुनिक महाभारत पनि भन्न चाहिरहेको छु, महाभारतको युद्धमा हस्तिानापुरका एउटै परिवारका मानिसहरुबीचमा युद्ध भएको थियो । तीभन्दा बाहिर थिएनन्, कोही काका थिए, कोही भतिज थिए, कोही बाउ थिए, कोही आफन्त थिए, तिनीहरुका बीचमा युद्ध भइरहेको थियो,’ नेता पाण्डेले भने, ‘आज हामी त्यस्तै युद्धमा छौं । न्याय र अन्यायका बीचमा, अन्यायका पक्षमा रहनेहरु सरकारी गाडी र सरकारी रकमको दुरुपयोग गरेर अहिले देश दौडाहामा छन् ।’