नेपालको संविधान कुल्चेर ओली इतिहासमै कलंकित बने‌ : अध्यक्ष दाहाल

होमल्याण्ड खबर

२०७७ माघ २६ गते, सोमबार १५:२८ मा प्रकाशित

प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेपालको संविधान कुल्चेर इतिहासमा कलंकित भएको टिप्पणी गरेका छन् । काठमाडौंमा आज आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले केपी ओली प्रतिगमनको बाटोमा हिँडेको आरोप पनि लगाए ।

साथै प्रचण्डले आफू शान्ति र स्वतन्त्रताको पक्षमा उभिँदा आफूहरुको जित भएको र केपी ओलीको हार भएको समेत दाबी गरे । कार्यक्रममा बोल्दै प्रचण्डले आफूहरू पदका लागि सडकमा नआएको दाबी गरे । उनले विचारका निम्ति पार्टीभित्र संघर्ष गर्नुपर्ने अवस्था आएको जिकिर गरे । ‘केपीसँग परेको प्रधानमन्त्रीको निम्ति लडाइँ परेको हो पनि भन्छन्, यो सबै केपी र केपीका गुटका मान्छेले गरेको षडयन्त्र हो, हामी विचारका निम्ति, सिस्टमका निम्ति लडेको हो,’ उनले भने । ‘हाम्रो आन्दोलनलाई र विचारलाई बदनाम गर्न षडयन्त्र भएको हो,’ प्रचण्डले भने, ‘हामी जनताको पक्षमा गयौँ, हामी लोकतन्त्रको पक्षमा गयौँ, हामी जनतासँग जोडियौँ, हामी सडकमै गयौँ, त्यसैले हामीलाई गर्व छ ।’