४ मंसिर २०८१, मंगलवार
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । हाल प्राधिकरणको निमित्त कार्यकारी निर्देशक रहेका शाक्यलाई ४ वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । ऊर्जा मन्त्रालयले शाक्यलाई कात्तिक २१ गते नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’ बाट काज फिर्ता गरेर नियुक्ति दिइएको थियो । त्यसपछि उनलाई कायममुकायमको जिम्मेवारी दिइएको थियो । तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङको कार्यकाल सकिएपछि प्राधिकरण हाजिर गरिरहेका उपकार्यकारीमध्येबाट लेखनाथ कोइरालालाई वरिष्ठताका आधारमा निमित्तको जिम्मेवारी दिएका थिए । शाक्यले प्राधिकरण आउनुअघि प्राधिकरणको सहायक कम्पनी एनईए इन्जिनियरिङको नेतृत्व गरेका थिए ।
परामर्श एवम् इन्जिनियरिङ सेवामा विदेशिने रकम जोगाउन भन्दै २०७३ मा स्थापित कम्पनीको प्रवन्ध निर्देशकका रुपमा काम गर्न तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले नै शाक्यलाई पठाएका थिए । शाक्य प्रसारणलाइनका जानकार मानिन्छन् । उनी २०७३ अघि अमेरिकी सहयोग कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत तयारी चरणको परियोजनामा पनि खटिएका थिए । प्राधिकरणबाट घिसिङ बाहिरएपछि शाक्यले प्राधिकरणको कार्यकारी निर्देशकमा आफ्नो दावेदारी रहेको बताएका थिए । शाक्यले बिई गरेका छन् । उनले प्रणाली सञ्चालनमा स्नातकोत्तर पनि गरेका छन् ।