झाँक्रीले भृकुटीमण्डपको सभाबाट भनिन्- हामी बोल्न जन्मिएका हौं, बोल्न पाइन्छ

होमल्याण्ड खबर

२०७७ माघ २८ गते, बुधबार १४:५३ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहले काठमाडौंमा आयोजना गरेको विरोध सभामा वक्ताहरुले बोल्ने क्रम शुरु भएको छ । सभामा बोल्न शुरु गरेको वक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको संसद विघटन असंवैधानिक र प्रतिगमनकारी कदम भएको भन्दै आलोचना गरेका छन् ।

सभामा बोल्दै नेकपा-प्रचण्ड नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले आफूहरु बोल्न जन्मिएको भन्दै कसैले बोल्न नरोक्ने बताइन् । आफूले गरेको भाषणलाई लिएर पक्राउ गर्नुपर्नेसम्मको आवाज उठेको विषयमा प्रतिकात्मक विरोधको भावसहित मञ्चमा पुगेकी झाँक्रीले भाषण शुरु गर्दै भनिन्, ‘बोल्न पाइन्छ, सर्वसत्तावादका विरुद्ध बोल्न पाइन्छ, संविधानको चिरहरण गर्नेका विरुद्ध बोल्न पाइन्छ ।’

‘२००७ देखि २०४७ र २०६२/०६३ सालसम्म भएका ऐतिहासिक क्रान्तिहरुले भन्छन् नागरिकहरु सार्वभौम भएका क्रान्तिहरुले जनतालाई सर्वभौम सम्पन्न हुन् । त्यसकारण नागरिकको बोल्न पाउने अधिकारलाई कसैले पनि कुण्ठित गर्न सक्दैन,’ झाँक्रीले विरोध सभालाई सम्बोधन गर्दै भनिन्, ‘संविधान र कानूनी राज्यका खिलाफमा सेटिङ र बन्द कोठा भित्र भएका अंध्यारा षड्यन्त्रका विरुद्ध बोल्न पाइन्छ ।’

केही दिन अगाडि गोरखामा भएको एउटा विरोध सभामा बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गरी दिएको अभिव्यक्तिलाई लिएर उनलाई पक्राउ गर्न सत्तपक्षीय (केपी शर्मा ओली नेतृत्वको) नेकपाको महिला संगठनका नेतृहरुले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएका थिए ।

गृहमन्त्रीले राष्ट्रपतिका विरुद्धमा अमार्यादित अभिव्यक्ति दिने व्यक्तिलाई पक्राउ गरिने बताएका थिए । केही सञ्चारमाध्यमहरुले सरकारको निर्देशनपछि झाँक्रीलाई पक्राउ गर्न प्रहरीले तयारी थालेको समाचार पनि सार्वजनिक भएका थिए ।