सोधपुछका लागि रामकुमारी झाँक्रीलाई बोलायो प्रहरीले

होमल्याण्ड खबर

२०७७ माघ २९ गते, बिहीबार ११:१४ मा प्रकाशित

संसद विघटनविरुद्धको एउटा सभामा बोल्ने क्रममा राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको प्रकरणमा प्रहरीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलाएको छ । महानगरीय अपराध महाशाखाको झाँक्रीलाई फोन गरेर छलफलका लागि भनेर बोलाएको हो । महाशाखाका प्रमुख एसएसपी दीपक थापाले झाँक्रीलाई बोलाइएको बताएका छन् । राष्ट्रपमुख (राष्ट्रपति)विरुद्ध अपमानजनक अभिव्यक्ति दिएको कसुरमा झाँक्रीविरुद्ध अनुसन्धान अगाडि बढाउन भन्दै गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो । गृह मन्त्रालयकै निर्देशन बमोजिम झाँक्रीमाथि अनुसन्धान अगाडि बढाइएको र उनले दिएका अभिव्यक्तिका सम्बन्धमा छलफल गर्न बिहीबार कार्यालयमै बोलाइएको अपराध महाशाखाका प्रमुख एसएसपी थापाले बताए ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपा निकट अखिल नेपाल महिला संघ (अनेमसंघ)का पदाधिकारीहरुले झाँक्रीलाई कारबाहीको माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएका थिए । अनेमसंघको ज्ञापन पत्र बुझ्दै गृहमन्त्री भण्डारीले राष्ट्रपतिविरुद्ध अपमानजनक शब्द प्रयोग गर्नेलाई कानून बमोजिम कारबाही गरिने बताएका थिए । संसद विघटनविरुद्ध गोरखामा आयोजित एउटा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीप्रति आलोचनात्मक टिप्पणी गर्दै झाँक्रीले भण्डारीलाई ‘महारानी’ भनेकी थिइन् ।

झाँक्रीले भनेकी थिइन्, ‘राष्ट्रपतिका कुरा त के गर्नु ? म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु, निर्वाचनको तयारीका लागि सुखसुविधा ऐश-आराम छाडेर शीतलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुस्, चाबहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गए पनि हुन्छ । नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो ? त्यसको तयारी गरेर सन्देश पठाउनुस्, तपाईंसँग म पनि भारी हुन्छु ।’