शेरबहादुर देउवाले गरे भोलिको प्रदर्शन व्यापक बनाउन अपिल

होमल्याण्ड खबर

२०७७ फाल्गुन २ गते, आईतवार १६:०८ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलिकाे प्रदर्शन व्यापक बनाउन अपिल गरेका छन् ।  सोमबार हुने विरोध प्रदर्शनमा सहभागी हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै सभापति देउवाले प्रदर्शन व्यापक बनाउन अपिल गरेका हुन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेको विरूद्धमा कांग्रेसले सोमबार ७७ जिल्लामै प्रदर्शन र सभा गर्न लागेको छ। सभापति देउवाले आइतबार जारी गरेको अपिलमा विरोध प्रदर्शनमा सहभागी हुन भनेका छन्।

‘भोलिको प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रूपले सफल बनाउन म सबैमा अपिल गर्दछु,’ देउवाले भनेका छन्। उनले लोकतन्त्रवादीहरू भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमविरूद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गरेका छन्। देउवा सोमबार बुटवलमा हुने प्रदर्शनमा सहभागी हुँदैछन्। प्रधानमन्त्रीको कदमलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक भनेको छ।